
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरूलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौती दिएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरूलाई एमालेविरुद्ध मोर्चा कसेर आउन चुनौती दिएका हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिँदैन भन्नेकुरा बुझे पनि सबै मिलेर एमालेसँग लड्न सकिँदैन भन्ने कुरा चाहिँ नबुझेको टिप्पणी गरे । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको मोर्चा झारपातहरूको मोर्चा भएको टिप्पणी गर्दै हलोमा लाग्ने लुँडीको संज्ञा दिए ।
अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले सुधार्न नसकेको बताए ।
‘मैले पहिले पनि भने ड्रमका ड्रम पानी खर्च भयो । डल्लाका डल्ला साबुन खर्च भयो धुँदाधुँदा । हाम्रो बागमती नै मैलियो माओवादीलाई पखाल्दा पखाल्दा,’ उनले भने, ‘मैले अरूलाई भनेको होइन यो प्रचण्डलाई भनेको है ।’