
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित विभिन्न क्षेत्रका १५ व्यक्ति र एक संस्थालाई ‘नेशनल सोसल वेलफेयर अवार्ड, २०२१’ प्रदान गरिएको छ ।
राष्ट्रिय नाचघर जमलमा आयोजित समारोहका बीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाजमा योगदान पु¥याउँदै आएका उनीहरुलाई आज अवार्ड प्रदान गरेकी हुन् । आश्रमले मुलुकभर सडकमा आइपुगेका असहाय, बेसहारा तथा मनोरोगीको उद्धार गरी संरक्षण, पालन पोषण तथा पारिवारिक पुनःमिलन गराउँदै आएको छ ।
आश्रमले २०८२ साल सम्ममा मुलुकभर सहयोगापेक्षि सडक मानवमुक्त बनाउने उद्देश्यले अभियान सञ्चालन गरेको छ । सोही योगदानको मूल्याङ्कन गर्दै अवार्ड प्रदान गरिएको आयोजक सिजन मिडियाले जनाएको छ । अवार्ड पाउनेमा रोटरी क्लब अफ त्रिपुरेश्वरका पूर्वअसिष्टेन्ट गभर्नर पञ्चकुमारी मानन्धर, ललितपुरका समाजसेवी डा लछी सिंह, व्यवसायी तथा समाजसेवी राममणि न्यौपाने, अपाङ्ग सेवा सङ्घ ललितपुरका संस्थापक दयाराम मर्हजन, नार्काेनन् नेपालका अध्यक्ष पूजा कुँवरलगायत छन् । समारोहमा मन्त्री रेग्मीले समाज परिवर्तनका लागि सामाजिक व्यक्तिको खाँचो रहेको औँल्याइन् ।