१८ असार २०८३, बिहीबार

तनहुँमा म्यादी प्रहरीमा तीन गुणा बढी आवेदन

तनहुँमा म्यादी प्रहरीमा तीन गुणा बढी आवेदन

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन तनहुँमा तीन गुणा बढीको आवेदन परेको छ । गत चैत ६ गतेदेखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा तनहुँमा मागभन्दा तीन गुणा बढीको आवेदन परेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तीन हजार ४१८ को आवेदन परेको छ । ती मध्ये एक हजार २९२ म्यादी प्रहरी छनोट गरिनेछ । चालिस दिनका लागि काम गर्ने इच्छासहित प्रहरी कार्यालयमा फारम भर्न उपस्थित युवायुवतीको आकर्षण देखिएको हो । 

“म्यादी प्रहरीका लागि आवश्यक सङ्ख्याभन्दा धेरैको आवेदन परेको छ, त्यसो हुँदा छनोट विधिमार्फत म्यादी प्रहरी भर्ना गरिनेछ”, उनले भने । म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने छ । उमेरहद खुकुलो भएका कारण अधिकांश भूपू प्रहरी र भूपू सैनिकले पनि फारम भरेका छन् । म्यादी प्रहरीमा भर्ना हुनका लागि कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र शारीरिक तथा मानसिकरूपमा तन्दुरुस्त रहेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत सात हजार २००, पोशाक र अन्य खर्च गर्ने गरी रु छ हजार, यातायात खर्चवापत रु एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । छनोट प्रक्रिया भने १५ चैतदेखि प्रारम्भ हुने, नतिजा २२ चैतसम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्