०४ साउन २०८३, सोमबार
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण

वाङ भ्रमणको अन्तिम दिन : राष्ट्रपतिसँगको भेटलगत्तै ओली र प्रचण्डलाई भेट्ने

वाङ भ्रमणको अन्तिम दिन :  राष्ट्रपतिसँगको भेटलगत्तै ओली र प्रचण्डलाई भेट्ने

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भ्रमणको अन्तिम दिन आज (आइतवार) महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।

जसअनुसार वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैछन् । 

बिहान ९ : ३० बजे शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने उनको कार्यसूची छ ।

यसलगत्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । 

होटल मेरियटमा ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने वाङको कार्यसूची छ ।

शुक्रवार दिउँसो नेपाल भ्रमणका लागि आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिवार शिवपुरीमा हाइकिङ गरेका थिए । 

शनिवार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । 

त्यस्तै उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेट तथा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे । यसपछि उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल रूपमा काठमाडौंबाटै उद्घाटन गरेका थिए । 

नेपाल भ्रमण सकेर वाङ यी आइतवार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यी हुन् नेपाल र चीनबीच भएको ९ बुँदे समझदारी

शनिवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय बैठकपछि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

जसअनुसार, आर्थिक तथा प्राविधिक सहयोग, नेपाल चीन क्रसबोर्डर रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनमा प्राविधिक सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी, नेपालमा रेल्वे क्षेत्र सहकार्य बढाउने सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।  

नेपाल र चीन अन्तरदेशीय विद्युतीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने, नेपालबाट चीनमा घाँस निर्यात गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, मर्मत सम्भार एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण र चिनियाँ स्वास्थ्यकर्मीको टोलीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले बताएको छ । 

त्यसबाहेक, कोभिड-१९ विरूद्धको ४० लाख डोज खोप हस्तान्तरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

द्विपक्षीय बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको १७ सदस्यीय प्रतिनिधि मण्डल बैठकमा सहभागी भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्