
नेपालमा अवैध मानिएको क्रिप्टो करेन्सीमा भइरहेको लगानीबारे संसदीय समितिमा सांसदहरूले प्रश्न उठाएका छन् ।
आइतवार अर्थ समितिमा बोल्ने सांसदहरूले अवैध लगानी अहिलेसम्म किन नखोजेको र कहाँ गयो भन्ने विषयमा प्रश्न उठाएका हुन् ।
अर्थ समिति सभापति कृष्णप्रसाद दाहालले प्रश्न गर्दै भने, 'क्रिप्टोमा लगानी कसरी गयो ? यो रकम खोज्ने काम बैंकको पनि होइन ?'
उनले यो विषयमा राष्ट्र बैंकलाई पनि बोलाएर सोधपुछ गर्न सकिने बताए ।
अर्थ समिति बैठकमा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले क्रिप्टोको लगानी खोज्नमा सबै बैंकहरूले तदारुकता देखाउनुपर्ने धारणा राखे ।
'नेपालबाट धेरै पैसा १५/१६ वटा देशबाट मात्रै आउने गर्छ, त्यसमा पनि क्रिप्टोकै कारण बाहिर जानु राम्रो होइन,' उनले भने ।
पाण्डेले सरकार, बैंक, राष्ट्र बैंक सबैको क्रिप्टो टाउको दुखाइको विषय बन्न सक्ने संकेत देखिएकाले अहिले नै यसको खोजी गर्नुपर्ने बताए ।