
न्यायिक समितिको राष्ट्रिय सम्मेलन सोमबारदेखि पोखरामा हुने भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनका लागि देशभरका न्यायिक समितिका प्रमुख तथा सदस्यलाई आमन्त्रण गरिएको आयोजक पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् । महानगर, उपमहानगर, नगर र गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ । सर्वसाधारणको न्यायमा पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ न्यायिक समिति बनाइएको हो ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै गुरुङले देशभरका ७५३ पालिकाबाट न्यायिक समितिका संयोजक तथा सदस्यसहित झण्डै ८०० जनाको सहभागिता रहने बताइन् । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, उच्च अदालत पोखराका मुख्य न्यायाधीशलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा न्यायिक समितिका प्रमुखले कार्यसम्पादनका क्रममा देखिएका उपलब्धि, समस्या र चुनौतीसँगै समाधानका उपायबारे आ–आफ्ना धारणा राख्ने बताइएको छ । सम्मेलनले आगामी दिनमा न्यायिक समितिलाई थप प्रभावकारी बनाउनका लागि आवश्यक सुझावसहित पोखरा घोषणापत्र जारी गर्नेछ ।