
नेपाल र चीनबीचको घनिष्ट मित्रतालाई थप उचाइमा पुर्याउन दुई मित्र राष्ट्र मुलुकले आपसी सहकार्यलाई बलियो बनाउने सहमति गरेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध थप घनिभूत बनाउने अवसर सिर्जना गरेको हो ।
शनिबार छिमेकी मुलुकका समकक्षी परराष्ट्रमन्त्रीसँगै दुई देशका प्रतिनिधिमण्डलसहित बसेको उच्चस्तरीय वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने सहमति गरेको हो ।
परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भएको द्विपक्षीय भेटवार्तामा दुई मुलुकबीचको विकासात्मक सहकार्यलाई जोड दिँदै सम्बन्धको नयाँ आयाम कायम गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने, “भेटवार्ता निकै सौहार्दपूर्ण रह्यो, दुई देशका प्रतिनिधिमण्डलले विभिन्न क्षेत्रसँग सम्बद्ध समझदारीपत्रमा हस्ताक्षर पनि गर्नुभयो, यसले दुई छिमेकी मुलुकको सम्बन्ध अझ प्रगाढ बनाएको छ ।” गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।