३१ जेठ २०८३, आइतबार
सरसर्ती २४ घण्टा

फुटेको एनआरएनए जोड्न करिब २०० जनालाई पद दिइयो

फुटेको एनआरएनए जोड्न करिब २०० जनालाई पद दिइयो

‘लोकान्तर राउण्ड अप’ मा पाठकहरुलाई स्वागत छ । सधैँ झै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ ।
००००
शेष घलेले छुटै गैरआवासीय नेपाली संघ (एनआरएनए) बनाएपछि थप क्षति हुन नदिनका लागि संस्थापन समूहले दशौँ विश्व सम्मेलनबाट जम्बो कार्यसमिति बनाएको छ । जसमा अध्यक्षमात्रै ३ जना रहेका छन् भने, उपाध्यक्ष ११, महासचिव २ जनाका साथै उपमहासचिव, सचिव, महिला उपाध्यक्षलगायतका पदमा पनि ठूलो संख्यामा मनोनयन गरिएको छ । कतिपयले एनआरएनएमा पदका लागि संस्थाकै गरिमामा आँच आउनेगरी पद सिर्जना गरिएको भन्दै आलोचना गरेका छन् । 

एनआरएनएमा करिब ६ महिनादेखि विवाद रहँदै आएको थियो । विवादकै बीच कुल आचार्य समूह संस्थापनसँग मिलेपनि शेष घलेले एनआरएनए फुटाइछाडेका थिए । यसअघि पनि थप क्षति नहोस् भनेर पदाधिकारीमा करिब २०० जनालाई पद बाँडिएको एक एनआरएनए नेताले जानकारी दिए । 

आइतबार सर्वसम्मत ढंगले अध्यक्ष र पदाधिकारी चयन गरिएको बताइएको छ। जसको अध्यक्षमा बद्री केसी, रवीना थापा र कुल आचार्य चयन भएका छन् । यस्तै भूषण घिमिरे, डिबी क्षेत्री, डा हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट उपाध्यक्ष चयन भएका छन् । 

यस्तै महिला उपाध्यक्षमा विष्णु माया परियार र याश्मिन बेगम चयन भएका छन् । यस्तै युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् । 
यस्तै महासचिवमा दुई जना निर्वाचित भएका छन् । जसमा गौरीराज जोशी र केशव पौडेल निर्वाचित भएका छन्।  

उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिम्खडा र विनय अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । 
सचिवमा १० जना निर्वाचित भएका छन् । चिरञ्जिवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमेद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चयन भएका छन् । 
त्यसैगरी महिला सचिवमा डा अलिनी पोखरेल र टीका गुरुङ निर्वाचित हुँदा कोषाध्यक्षमा सुनील शाह, लोक दाहाल र फणिन्द्र पन्त चयन भएका छन् । सहकोषाध्यक्षमा कृष्ण तिमल्सिना, होम तिमल्सिना र दीपक शर्मा, लाल केसी, मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे, यज्ञ सुवेदी चयन भएका छन् । 

महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन हुँदा युवा संयोजकमा अब्दिुल बसिद र रविन्द्र खड्का चयन भएका छन् ।  यस्तै महिला संयोजकमा विमला सापकोटा र संगीता मरहठ्ठा बनेका छन् । यस्तै क्षेत्रीय संयोजक तथा उपसंयोजकलगायत गरी करिब २०० जनालाई पद दिइएको हो । करिब १८ वर्षे इतिहास बोकेको एनआरएनए इतिहासमै पहिलो पटक यतिधेरै विवादित बनेको हो। 
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गरेका छन् ।
एनआरएनए को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले विश्वभर छरिएर बसेका नेपालीको असङ्गठित पुँजी र प्रविधिलाई सङ्गठित बनाउन आवश्यक रहेको बताए। प्रधानमन्त्री देउवाले भने, “विश्वभर छरिएर बसेका नेपालीको असङ्गठित पुँजी र प्राविधिक ज्ञानलाई सङ्गठित र एकत्रित गरी मुलुकको आर्थिक विकासमा परिचालन गर्न अब गैरआवासीय नेपाली सङ्घले निश्चित कार्ययोजना र रणनीति नै बनाएर अघि बढ्न आवश्यक छ भन्ने मलाई लागेको छ ।”     

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीको लगानीलाई मुलुकको समृद्धि र नवनिर्माणको खातिर उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानूनी सुधार गरी सहजीकरण गर्दै आइरहेको उल्लेख गरे ।
००००
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुंगो लगाएको छ ।

आइतवार आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावली टुंगो लगाएको हो। 

आगामी स्थानीय तहको निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता हुने सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए।
त्यसमध्ये ८९ लाख ९२ हजार १० पुरुष मतदाता छन् । ८७ लाख ४१ हजार ५ सय ३० महिला मतदाता रहेका छन् । 

यस्तै १८३ जना अन्य छन्।  चुनावको लागि १० हजार ७५६ मतदानस्थल हुने भएका छन् भने २१ हजार ९५५ मतदान केन्द्र हुने भएको आयोगले जनाएको छ।    
००००
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन प्रदेशसभा भवन धनगढीमा आइतबारदेखि सुरु भएको छ । ६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिँउदे अधिवेशन प्रारम्भ भएको हो । 

अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेशसभामा छलफलका लागि कार्यसूची दिन नसकेकोलगायत कारण अधिवेशन ढिलो गरी सुरु भएको हो ।
००००
पछिल्लो २४ घण्टामा २३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२२ नमूना परीक्षणमध्ये २३ जनामा संक्रमण देखिएको हो । 
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५१ छ । मन्त्रालयका अनुसार थप २१५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर १५५८ सक्रिय संक्रमित छन् ।
००००
स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी सिट जित्नको लागि भन्दै नेपाली कांग्रेसले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्ने तयारी गरेको छ । 
काठमाडौंमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बहुसंख्यक सदस्यहरूले तालमेल गरेर जानुपर्ने धारणा राखेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 

कतिपय केन्द्रीय सदस्य र स्थानीयस्तरका नेताहरूको विरोधका बाबजुद् कांग्रेसले चुनावी तालमेललाई ‘आवश्यकताको सिद्धान्त’ भनेको छ । 
प्रवक्ता महतले गठबन्धनबारे औपचारिक निर्णय नभए पनि धेरै सिट जित्नको लागि तालमेलको सम्भावना रहेको बताए ।
००००
नेकपा एमालेको प्रथम स्थायी कमिटी बैठक महाराजगञ्जमा आइतबार बसेको  छ । 

बैठकको शुरूमै अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटबारे जानकारी गराए । उनले दुई देशको सम्बन्ध र हितका विषयमा कुरा भएको बताएका थिए ।
सो अघि राजधानीको एक होटलमा दुई नेताबीच भेटवार्ता भएको थियो । 
००००
यसैगरी चिनियाँ विदेश मन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटमा दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा भएको छ ।
काठमाडौंको नक्सालस्थित मेरियट होटलमा आइतवार चिनियाँ विदेशमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल र माओवादी केन्द्रका नेताहरूबीच भेटवार्ता भएको थियो । वाङले आइतबार नै राष्ट्रपति विद्या भण्डारीसँग समेत शिष्टाचार भेट गरेका थिए । 
००००
यसैबीच तीन दिने नेपाल भ्रमण सम्पन्न गरेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । 
गत शुक्रबार भारत हुँदै काठमाडौं ओर्लिएका वाङ यीले यहाँ रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । 
त्यसबाहेक, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

परराष्ट्र मन्त्री डा। नारायण खड्काको निमन्त्रणामा वाङ नेपाल आएका थिए । उनी आएको अवसरमा नेपाल र चीनबीचको सहकार्यका लागि ९ बुँदे समझदारी भएका छन् ।
००००
आइतवार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक ४१.४३ अंकले घट्दै २५७२.२३ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ परिसूचक ९.५५ अंकले घट्दै ४७९.३९ विन्दुमा झरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्