
स्थानीय तहको चुनावमा गठबन्धन बनाउने नबनाउने विषयमा नेपाली कांग्रेसले आज औपचारिक निर्णय गर्ने भएको छ ।
चुनावमा टिकट बाँड्ने संसदीय बोर्ड गठन लगायत विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको तेस्रो दिनको बैठक सोमवार बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजेपछि बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आइतवार बसेको बैठकमा बहुसंख्यक केन्द्रीय सदस्यहरूले पार्टीलाई फाइदा हुनेगरी चुनावी तालमेल गर्नुपर्ने सुझाव राखेका थिए ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले धेरै सिट जित्नका लागि ‘आवश्यकताको सिद्धान्त’ अनुसार चुनावमा तालमेल गरिने बताएका छन् ।
बाँकी सदस्यहरूले बोल्ने क्रम सकिएपछि सोमवार नै चुनावी तालमेल र यसको मोडालिटीबारे छलफल हुने कांग्रेस नेताहरूको भनाइ छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी तालमेल गर्नुपर्ने बताउँदै आएका छन् ।