०२ साउन २०८३, शनिबार

गुल्मीको मदानेमा एमाले गढ भत्काउने गठबन्धनको रणनीति, जितिनेमा ढुक्क एमाले

चैत १४, २०७८
गुल्मीको मदानेमा एमाले गढ भत्काउने गठबन्धनको रणनीति, जितिनेमा ढुक्क एमाले

स्थानीय तहको निर्वाचनमा गुल्मीको मदाने गाउँपालिकामा एमालेविरुद्ध सत्तारूढ गठबन्धन एकजुट हुँदा पनि एमाले सशक्त देखिएको छ । 

२०७४ सालको निर्वाचनमा एमालेका दानबहादुर खत्री क्षेत्रीले चार हजार ४२३ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका थिए । 

त्यसबेला उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्रबहादुर कुँवरले दुई हजार ९५७ मत पाएका थिए । उनीहरूबीचको अन्तर १ हजार ४६६ थियो । नेकपा (माओवादी केन्द्र)का बेगमबहादुर चन्द बोहोराले ७२५ मत मात्रै ल्याएका थिए ।

मदाने गाउँपालिकामा अहिले १६ हजार ३०५ मतदाता छन् । 

अघिल्लो मतपरिणामको नतिजा र नेपाल कम्युनिष्ट पार्टी हुँदै एमालेमा आएका माओवादी केन्द्रका कार्यकर्ताका कारण सहजै चुनाव जित्न सकिने एमाले नेताहरू बताउँछन् । 

‘अघिल्लो चुनावमा हामीले फराकिलो मतान्तरले जितेका थियौं । यसपालि त झन माओवादीबाट पनि एमालेमा प्रवेश भएको छ । चुनावी नतिजा हाम्रो पक्षमा हुनेमा ढुक्क छौं,’ मदाने गाउँपालिकाका एमाले नेता रेशम कुँवरले भने ।

आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिकाको अध्यक्षमा चक्रबन्धु भुसाल, प्रेम केसी र रेशम कुँवर आकांक्षी छन् ।  

नेपाली कांग्रेसले भने यसपटक मदानेमा एमालेको गढ भत्काउने दाबी गरेको छ । एमालेबाट छुट्टिएर गएको माधव नेपाल नेतृत्वको नेकपा (एस)का कारण एमालेमा क्षति पुग्ने र कांग्रेसले जित्न सक्ने उनीहरूको दाबी छ । 

‘गठबन्धनको बलमा यसपटक एमालेलाई हराउँछौँ,’ मदाने गाउँपालिकाका कांग्रेसका नेता महेन्द्र कुँवरले लोकान्तरसँग भने, ‘अहिले हामी एमालेभन्दा बलियो अवस्थामा छौं ।’

चुनावमा कांग्रेसले माओवादीलाई गाउँपालिकाको उपप्रमुख दिएर आफूले प्रमुख राख्ने योजना बनाएको छ । 

कांग्रेसबाट महेन्द्र कुँवर, सुशीला भुसाल, काशी बोहोरा आकांक्षी छन् । माओवादी केन्द्रबाट बुद्धि जिसी र बेगम चन्द आकांक्षी छन् । 

माओवादी केन्द्रले मदानेमा उपप्रमुखसहित अधिकांश वडा पाएको खण्डमा अध्यक्ष कांग्रेसलाई छोड्न सक्ने बताउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्