
नेपाली कांग्रेसका बहुसंख्यक केन्द्रीय सदस्यहरूले स्थानीय तहदेखि प्रतिनिधि सभा निर्वाचनसम्म चुनावी तालमेल गरेर जानुपर्ने बताएका छन् । महामन्त्री गगन थापा लगायत कतिपय सदस्यहरूले भने चुनावी तालमेल आवश्यक नरहेको धारणा राखेका छन् ।
काठमाडौंमा जारी नेपाली कांग्रेस केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बोल्ने अधिकांश सदस्यले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । मंगलवार दिउँसो ३ बजे बस्ने बैठकले यसबारे औपचारिक निर्णय लिने उनले बताए ।
‘केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम टुंगिएको छ, भोलिको बैठकमा निर्णय गर्छौं । अधिकांश साथीहरूले आवश्यकताको सिद्धान्तको आधारमा तालमेल गरेर जादा पार्टी मजबुत हुने र संसदीय निर्वाचनमा पनि जित्ने परिस्थिति निर्माण हुन सक्ने धारणा राखेका छन्,’ महतले भने, ‘कतिपय साथीहरूले गठबन्धन नगरिकन पनि पार्टीलाई परीक्षण गर्नुपर्छ भन्ने मत आएको छ ।’
फागुन २९ गतेदेखि शुरू भएको ‘घरघर जाउँ, कांग्रेस जिताऔं’ भन्ने अभियानको समीक्षा र पार्टीको यथार्थ स्थितिको मूल्यांकनको समीक्षा भएको महतले बताए ।
‘कुन ठाउँमा कस्तो वस्तुस्थिति छ, त्यसको आधारमा कहाँ कहाँ तालमेल गर्ने र कहाँ मिल्ने भन्ने साथीहरूको सुझाव छ । यिनै सुझावको आधारमा प्रस्ताव तयार गरेर केन्द्रीय समितिबाट पारित गछौं,’ महतले भने ।
सोमवारको बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी तालमेल गरेर जानुपर्ने प्रस्ताव राखेका थिए । गत निर्वाचनमा आफूले समेत मुस्किलले जित हासिल पारेको स्मरण गर्दै देउवाले चुनाव जित्नको लागि तालमेल आवश्यक रहेको बताएका थिए ।