
राष्ट्रिय मानव अधिकार आयोगले तोकिएका समयमा हवाई उडान हुने नहुनेबारे यात्रुलाई समयमै जानकारी गराउन माग गरेको छ ।
आयोगले आयोजना गरेको ‘हवाई उडान र उपभोक्ता अधिकारसम्बन्धी छलफल कार्यक्रममा आयोगकी उपसचिव मञ्जु खतिवडाले उडान नभएपछि समयमा नै यात्रुलाई जानकारी दिनुपर्ने व्यवस्था गरिनुपर्ने बताइन्। अनुगमनका क्रममा हवाई कम्पनी यात्रुको सहज र सुरक्षित यात्राप्रति गम्भीर नभएको पाइएको उनले उल्लेख गरिन् । अनुगमनका क्रममा आठ घण्टासम्म पनि उडान नभएको, विमान कम्पनीले समयमा सही सूचना नदिने गरेको लगायत कारणले यात्रुले कठिनाइ भोग्नुपरेको, लामो समयसम्म विमानस्थलमा पर्खनुपर्ने कारण यात्रुले विमानस्थल परिसरमा महँगो र गुणस्तरहीन खानेकुरा खान बाध्य भएको पाइएको छ ।
आठ घण्टासम्म पनि हवाई उडान नभएपछि विमान सेवा कम्पनीले यात्रुलाई चिया खाजाको व्यवस्था नगरेको, साँझ भइसकेपछि उडान रद्द भएका खण्डमा यात्रुको सामान फिर्ता गर्ने गरिएको र यात्रुले आफ्नो व्यवस्थापन आफैँ गर्ने गरेको, विमान सेवा कम्पनीबाट केही बन्दोबस्त नहुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै उडान नहुने जानकारी समयमा नदिँदा यात्रु बेखर्ची भएर आफन्तकामा बस्नुपरेको र विमान कम्पनीले कुनै जिम्मेवारी लिने नगरिएको पाइएको छ । पहाडी भेगमा उडान भर्ने समिट एयरलाइन्सले यात्रुलाई बिहानै विमानस्थलमा बोलाउने, दिनभरि कुराउने तथा विनाजानकारी रद्द गर्ने जस्ता कार्य गरेको आयोगकी उपसचिव खतिवडाको भनाइ छ ।