२९ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

कांग्रेसमा चुनावी तालमेलको बहस, ५ जना सवार मोटरसाइकलमा ४ जनाको मृत्यु

कांग्रेसमा चुनावी तालमेलको बहस, ५ जना सवार मोटरसाइकलमा ४ जनाको मृत्यु

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँ झै आज पनि हामी वितेका २४ घण्टाका मुख्यमुख्य समाचारका साथ नियमित प्रस्तुति लिएर आएका छौँ 
००००
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा  आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सम्बन्धमा बहस जारी छ । शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल गर्नुपर्ने र निर्वाचनमा एक्लै जानुपर्र्ने सम्बन्धमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त गरे ।
 
 बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले आफ्नो धारणा व्यक्त गर्ने क्रम सम्पन्न भएको छ । बैठकमा चुनावी तालमेलका साथै निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, निर्वाचनको तयारीका लागि पार्टीले सञ्चालन गरिरहेको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समीक्षालगायत विषयमा छलफल भएको थियो ।

सोमबारको बैठकमा अधिकांशले लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि विशिष्ट परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार चुनावी तालमेल गर्दा उपयुक्त हुने धारणा राखेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । स्थानीयस्तरमा पार्टीको अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जाँदा पार्टी मजबुत हुने र आगामी संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने धेरैको सुझाव आएको उनले बताए ।
 
    यसका लागि केन्द्रले सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव आएको र त्यसैका आधारमा मङ्गलबार दिउँसो ३ बजे बैठकमा आवश्यक निर्णय हुनेछ । यसैगरी कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले भने चुनावी तालमेल नगरी एक्लै निर्वाचनमा जाँदा राम्रो हुने सुझाव दिए।
 
    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, डा शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रमेश लेखक, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खाँण, सुशीला थिङ र गणेश लामाले आआफ्नो धारणा राखेका थिए । 
००००
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ४ जना बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएका छन् । सोमबार सवैला नगरपालिका–१२ स्थित बरकुर्वामा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार मृत्यु हुनेमा १२ वर्षीय लक्ष्मी यादव,  १५ वर्षीय राहुल यादव,  १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादव छन्। राहुलले मोटरसाइकल हाँकेका थिए । 
दुर्घटनामा घाइते १९ वर्षीय सुरेन्द्र यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

मोटरसाइकलमा ५ जना सवार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तीव्र गति गतिको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । 
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
००००
नेपाल प्रहरीका ३६ डीएसपी र ६ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरुको सरुवा गरेको हो । 
००००
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पशुपति क्षेत्रमा  १०० कोठे सुविधा सम्पन्न बृद्धाश्रम निर्माण गर्ने भएको छ  । सोमबार सम्पन्न  नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बृद्धाश्रमको निर्माण गर्ने यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । जसअनुसार यस परियोजना सम्पन्न गर्नको लागि नवनिर्वाचित अध्यक्ष कूल आचार्यले १ करोड सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
००००
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीहरूका लागि ५० हजार झोला खरिद गर्ने भएको छ । प्रतिझोला ८९०.४४ रुपैयाँका दरले ५० हजार थान झोला खरिद गर्न आपूर्तिकर्तासँग सम्झौता गर्ने तयारी गरेको छ ।
००००
नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) माथि सोमवार १५ रनको रोमाञ्चक जीत निकालेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्र जोड्दा नेपालले १५ रनको जीत निकालेको हो ।
००००
मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् ।
चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन् ।
००००
पछिल्लो २४ घन्टामा मुलुकभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार ६ हजार ३ सय ९ जनामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै मुलुकभर पीसीआर परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि हुनेहरूको संख्या ९ लाख ७८ हजार ३४७ जना र एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि हुनेहरूको संख्या १ लाख ४० हजार ११९ पुगेको छ ।

यस दिन ३ सय १९ जना संक्रमित निको भएका छन् । यससँगै मुलुकभर कोरोना संक्रमणपछि निको हुनेहरूको संख्या ९ लाख ६५ हजार १४२ पुगेको छ ।

सोमवार कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या शून्य छ ।
००००
स्थानीय तहको निर्वाचनमा साना राजनीतिक दलहरूलाई आफ्नै चुनाव चिह्न दिने गरी निर्वाचन आयोगले निर्णय गरेको छ ।

आइतवार बसेको आयोगको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरूलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
००००
माओवादी जनयुद्धको उद्गमस्थल रोल्पामा जनयुद्ध स्मृति भ्यू टावर निर्माण भएको छ । सो भ्यू टावरको सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले उद्घाटन गरेका छन् ।  

रोल्पा नगरपालिकामा बनेको भ्यूटावर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रोल्पामा बनेको भ्यू टावर, युद्ध संग्रहालय र उक्त क्षेत्रलाई प्युठानको स्वर्गद्वारीसँग जोड्न सक्दा पर्यटन विकासमा योगदान पुग्ने बताए । 

सो भ्यू टावर ६ करोड रुपैयाँ लागतमा नगरपालिकाले बनाएको हो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् । 

राप्रपा नेपालले सोमवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो १५ वर्षको राजानीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको बताएका हुन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीले २० सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बनाएको छ ।  अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम सोमवार कार्यसम्पादन समिति गठन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्