
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गठबन्धन बाहेकका दलको अवस्था चुनाव पछि नाजुक बन्ने बताएका छन् ।
एमाले प्रति संकेत गर्दै मन्त्री आलेले निर्वाचन पछि ठूला कुरा गर्ने दलका नेताको नै अबस्था नाजुक बन्ने बताएका हुन् ।
आज (शुक्रवार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री आलेले नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा गठबन्धन गर्ने भनेर गरेको निर्णयले उत्साह थपेको समेत बताए ।
केही दिन अघि मात्रै कांग्रेस केन्द्रीय समितिको बैठकले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको थियो ।
चुनावी गठबन्धनका लागि कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा कार्यदल बनेकाले चाँडै नै कार्यदलले खाका तयार गर्ने समेत मन्त्री आलेले बताए ।
सहमतिका आधारमा गठबन्धन दलहरूबीच भागबण्डा हुने उनको भनाइ छ ।
मन्त्री आलेले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि बजेटको व्यवस्थापन भइरहेको समेत बताए ।
‘जग्गा मुआब्जाका लागि मात्रै १६ अर्ब लाग्ने रहेछ,’ उनले भने,‘निर्माणका लागि पनि थप बजेट चाहियो । अहिले नै राज्यसँग सामर्थ्य नभए पनि बजेटको व्यवस्थापन गर्ने काम भने भइरहेको छ ।’
उनले विराटनगर बाहिर पनि विमानस्थल बनाउनका लागि पहल भइरहेको बताए ।
उनले विराटनगर लुक्ला उडान चाँडै हुने समेत बताए ।