
मुगुमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २८ हजार ७८३ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।
बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।
टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको कार्यालय प्रमुख उमेश गौतमले जानकारी गराए । एक भायलमा पाँच मात्रा रहेको रङविहीन तयारी झोलका रुपमा रहेको खोप एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने उनको भनाइ छ ।
प्रमुख गौतमका अनुसार खोप अभियानका लागि खोप लगाउने स्वास्थ्यकर्मीको तालिमसमेत सञ्चालन गरिनेछ । अभियानअन्तर्गत २१ हजार ११६ विद्यार्थी र विद्यालय बाहिरका १५ महिनादेखि १५ वर्षसम्मका सात हजार ६६७ बालबालिकालाई खोप दिइने प्रमुख गौतमले जानकारी दिए ।