२३ जेठ २०८३, शनिबार

चुनावको मुखैमा पार्टीका नेता–कार्यकर्तालाई नियुक्ति, कर्मचारीको व्यापक सरुवा, बढुवा

चैत १९, २०७८
चुनावको मुखैमा पार्टीका नेता–कार्यकर्तालाई नियुक्ति, कर्मचारीको व्यापक सरुवा, बढुवा

स्थानीय तह निर्वाचन आउन ४१ दिन मात्रै बाँकी रहँदा सरकारले आफ्ना नेता कार्यकर्तालाई विभिन्न निकायमा नियुक्ति गर्ने क्रमलाई तीव्रता दिएको छ ।

सरकारले निर्वाचन नजिकिँदै गर्दा ठूलो संख्यामा प्रहरी तथा कर्मचारीको सरुवा गर्दै आफू अनुकूलको प्रहरी प्रशासन बनाउने प्रयास गरेको छ ।

सरकारले प्रहरी प्रशासनमा समेत हस्तक्षेप गरी निर्वाचनलाई आफू अनुकूल बनाउन खोजेको हो । पछिल्ला दिनमा सरकारी निकाय कार्यकर्ता भर्ने भर्तीकेन्द्रको रूपमा रूपान्तरण हुन थालेको सरकारी अधिकारीले बताएका छन् ।

सरकारले गत माघ २४ गते नै आगामी २०७९ वैशाख ३० गते हुने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको थियो । चुनावको मिति घोषणा गरेको डेढ महिनाको अवधिमा सरकारले ठूलो संख्यामा कर्मचारी सरुवा, बढुवा र राजनीतिक नियुक्ति गरेको हो ।

सरकारले बिहीवार मात्रै ४३ जिल्लामा भूमि आयोगमा अध्यक्षको नियुक्ति गरेको छ । यसरी भूमि आयोग जस्तो निकायमा नियुक्ति लिनेहरूमा सत्तारूढ दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका जिल्लास्तरका नेता तथा कार्यकर्ता छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार पछिल्लो २०/२५ दिनको अवधिमा मात्रै सयाैँ नियुक्ति भएका छन् । यही अवधिमा सरकारले नेपाल प्रहरीमा तीन एआईजी पद समेत थप गरी ३ जनालाई एआईजीमा बढुवा गरिसकेको छ । सो बढुवा विवादित भएपछि हाल बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

यसैगरी केही दिनअघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका मात्रै ५ सय १३ भन्दा बढी कर्मचारीको सरुवा गरेको थियो । यसैबीचमा विभिन्न मन्त्रालयका दर्जनौं सहसचिवको सरुवा भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । त्यसअघि सरकारले २ दर्जनभन्दा बढी सचिवको सरुवा गरेको थियो ।

निर्वाचन आयोगले सरकारी निकायको हकमा आचारसंहिता जारी गर्न भने बाँकी नै छ । आयोगले आचारसंहिता जारी गरेपछि भने सरकारले सरुवा, बढुवा र नियुक्ति प्रक्रियामा पूर्णतः रोक लाग्नेछ । यद्यपि, निर्वाचन घोषणा भइसकेपछि भने सरकारले अत्यावश्यकबाहेक अन्य दीर्घकालीन असर पर्ने खालका नियुक्ति तथा सरुवा बढुवा गर्न नहुने लोकतान्त्रिक संस्कार र परम्परा रहेको राजनीतिक विश्लेषकको भनाइ छ । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्