
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा निर्माण भएको मानवीय सहायतास्थलको उदघाट्न गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरणको पूर्व तयारीमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
‘विपद्सँग सामना गर्न जनशक्ति परिचालन, उपकरणको उपलब्धता र पूर्व तयारी आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसका लागि ३ तहका सरकार बीचको समन्वय र सहकार्य नितान्त जरुरी छ ।’
मुख्यमन्त्री शाहीले विपद् जोखिमको प्रतिकार्य, उद्धार, राहतका लागि पूर्व तयारी र समयको सदुपयोग महत्त्वपूर्ण कुरो भएको जनाए । यस्ता प्राकृतिक विपद्मा सरकार विकास साझेदारको सहयोग आवश्यक रहेको बताउँदै उनले बेलायत सरकार तथा विश्व खाद्य संगठनको लामो समयदेखिको योगदानको प्रशंसा गरे ।
कर्णालीमा पनि विपद्को उच्च जोखिम रहेकाले यसको पूर्व तयारी लाग्न हरेकले समय र महत्त्व दिएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विपद् मानव जातिको सत्रु भएकाले त्यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणमा साझा प्रयास आवश्यक रहेको बताए ।
गृह मन्त्रालयले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरेको मानवीय सहायतास्थलमा बेलायत सरकार तथा विश्व खाद्य संगठनको सहयोग गरेकाप्रति धन्यवाद व्यक्त गर्दै उक्त संरचनालाई ठूलो पूँजीका रूपमा ग्रहण गरिने जनाए ।