
स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका ५ दलले निर्णय गरेका छन् ।
केन्द्रमा रहेको ५ दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लाअन्तर्गत स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिए ।
केन्द्रको गठबन्धनअनुसार मिलेर चुनावमा जान जिल्ला तहमा सैद्धान्तिक निर्णय गरिएको माओवादीका जिल्ला इन्चार्ज वलावती शर्माले बताइन् ।
आइतवार सम्पन्न ५ दलीय बैठकले प्रत्येक पार्टीबाट २ जनाका दरले १० जनाको उच्चस्तरीय संयन्त्र गठन गर्ने र उम्मेदवार तथा भागबण्डाको टुंगो सोही संयन्त्रले गर्ने नेकपा एकीकृत समाजवादीका नेता रामजीप्रसाद शर्माले बताए ।