
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जटिल रोगका बिरामीलाई उपचार खर्चबापत दिइने मासिक भत्ताको कार्यविधि तयार गरेको छ ।
मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचारबापत सरकारले मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अब कार्यविधिअनुसार उल्लिखित व्यक्तिले भत्ता पाउने जानकारी दिए।
कार्यविधिअनुसार भत्ता रकम त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले बिरामीको बैङ्क खातामा जम्मा गर्ने छन् ।
क्यान्सर निको भई चिकित्सकको निगरानीमा रहेका व्यक्ति, मेरुदण्ड पक्षाघात भएका रातो र नीलो अपाङ्गता परिचय पत्र भएकाले पनि उक्त रकम पाउने छन् ।
कार्यविधिअनुसार भत्ताका लागि औषधि उपचार गर्न नसक्ने गरिबीको परिचयपत्र वितरण गरेको जिल्लाको हकमा सो परिचयपत्रवालालाई स्थानीय तहले सिफारिस गर्नुपर्नेछ । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।