
नेपाल वायुसेवा निगमले एयरबसको जहाज किन्दा लिएको ऋणको किस्ता ३ वर्षदेखि ठप्प छ ।
निगमले हरेक ३/३ महिनामा ऋणको किस्ता तिर्नुपर्ने भए पनि चैत २०७५ गतेपछि १ किस्ता पनि बुझाएको छैन । निगमले चैतमा बुझाउनुपर्ने यस्तो किस्ता १२औं हो ।
निगमले ऋण तिर्न नसकेपछि ब्याजलाई पुँजीकरण गर्दै जाँदा ३२ अर्ब रुपैयाँ ऋणको भारी बढेर करीब ४७ अर्ब रुपैयाँ पुगेको छ । निगमले समयमा नै ऋणको किस्ता तिर्न नसक्दा ब्याजकै कारण मात्रै निगमलाई १५ अर्ब रुपैयाँको भारी थप भइसकेको छ ।
निगमले तिर्नुपर्ने ऋणबारे ऋणदाता निकाय कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले अर्थ मन्त्रालयमार्फत दबाब पनि दिन थालेको भए पनि ऋण तिर्न कुनै योजना बनाएको छैन ।
वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत दबाब बढाइरहेको बताउँछन् ।
अध्यक्ष अधिकारी ऋणको किस्ता घटाउन नसकेको भए पनि राम्रोसँग सञ्चालन गर्ने लयमा निगम गएको दाबी गर्छन् । हालसम्म कर्मचारीलाई तलबभत्ता खुवाउन समस्या नभएको अधिकारीको भनाइ छ ।
अधिकारी भन्छन्, ‘निगमले लिएको ऋणको ब्याजदर नै महंगो छ । यस्तो महंगो ब्याज विश्वकै कुनै पनि वायुसेवाले तिर्नु नपर्ने र नेपाली वायुसेवालाई मात्रै चर्को ब्याजदरमा ऋण दिइएको छ ।’
निगमले ऋणको ब्याज घटाउन पनि आग्रह गरेको छ । ऋणदाताले पनि महंगो ब्याज पाइन्छ भन्दैमा तिर्ने आधार नै नबनाई हतारहतार गरेर ऋण दिएको र पछिल्लो समय अवस्था असहज हुँदा किस्ता रोकिएको उनले बताए । निगमले ऋण तिर्ने योजना बनाउँदै गरेकाले अबको केही महिनापछि नियमित किस्ता तिर्ने आधार हुने दाबी अधिकारीले गरेका छन् ।
निगमका अनुसार साउदी अरेबिया उडान शुरू भएपछि आम्दानीको स्रोत बढ्छ, त्यसपछि ऋणको किस्ता पनि घटाउन सकिन्छ भन्ने हो । निगमले १५ अप्रिलबाट साउदी अरबको उडान शुरू गर्दैछ । निगमले शुरूमा साताको २ वटा र केही समयमा हरेक हप्ता ३ वटा उडान गर्ने गरी योजना बनाइरहेको छ ।
निगमले ऋणको किस्ता घटाउने विषयमा अहिले नै कुनै ठोस योजना तय नभएको अधिकारीले बताए । उनका अनुसार किस्ता घटाउने र नियमित गर्ने विषयमा पर्यटन मन्त्रालयमार्फत आवश्यक समन्वय गरिदिन आग्रह गरिएको छ । हालसम्म ठोस कदम यही नै हुन्छ भनेर अहिले नै भन्न नसकिने निगमका कार्यकारी अध्यक्ष अधिकारको भनाइ छ ।
सञ्चालक समितिबाट निर्णय गराएर ऋण असुली गर्ने तयारीमा ऋणदाता
वायुसेवा निगमले लामो समयदेखि ऋणको सावा–ब्याज नतिरेको र योजना समेत पेश गर्न नसकेपछि सञ्चालक समितिबाटै निर्णय गरेर असुलीको उपाय अपनाउने तयारीमा ऋणदाता छन् ।
निगमलाई जहाज किन्नमा २२ अर्ब रुपैयाँ लगानी गरेको कर्मचारी सञ्चयकोषलाई मात्रै तिर्नुपर्ने रकम अहिले करीब ३० अर्ब रुपैयाँ पुगेको छ । १२ अर्ब रुपैयाँ लगानी गरेको नागरिक लगानी कोषलाई तिर्नुपर्ने रकम पनि १७ अर्ब रुपैयाँ पुगिसकेको छ । यो रकम उठाउन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ३ महिनाअघि नै अर्थ मन्त्रालयलाई गुहारिसकेका छन् ।
अर्थले अहिलेको अवस्थामा निगमको ऋण तिर्न लगानी गर्न नसक्ने र सरकारले सहयोग गर्न नसक्ने भन्दै पन्छियो । अर्थ मन्त्रालय पन्छिएपछि ऋणदातालाई आफ्नो ऋण उठाउनुपर्ने तनाब बढेको छ ।
वायुसेवा निगमको सम्पत्ति लिलामी गरेर ऋण उठाउने कि सरकारकै सहयोगको अपेक्षा गर्नेमा भने अझै ऋणदाताले निर्णय गरिसकेका छैनन् । सरकार जमानी बसेर लगानी भएको यस्तो ऋण उठाउन सरकारले नै पहल गरिदिनुपर्ने भन्दै दुवै ऋणदाता सरकारकै सहयोगको अपेक्षामा पनि छन् ।
निगमबाट ऋण उठाउन कर्मचारी सञ्चय कोषले असुली कार्यविधि संशोधन नै गरिसकेको छ । अब सञ्चालक समितिबाट निर्णय गरेरै अगाडि बढ्ने विषयमा आवश्यक पहल भइरहेको कर्मचारी सञ्चय कोषका निमित्त प्रशासक जितेन्द्र धितालले बताए । उनका अनुसार निगमले ऋण नतिर्दा कोषको ब्यालेन्स सिट नै बिग्रन्छ ।
महालेखा परीक्षकले पनि ऋण असुली नगरेको विषयमा प्रश्न उठाइरहेको छ । सरकारले असारसम्ममा कुनै व्यवस्था गर्ने अपेक्षा पनि गरिएको धितालले बताए ।
ऋण असुलीको उपाय तत्काल नआए सरकार र नागरिक लगानी कोषसँग समन्वय गरेर कर्मचारी सञ्चय कोषले संयुक्त निर्णय गर्न सक्ने जानकारी पनि धितालले दिए । ऋण असुली गर्ने विषयमा आफूहरू गम्भीर भएको र कुनै निर्णय गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ ।
नागरिक लगानी कोषका प्रवक्ता उद्धव सिलवालले पनि निगमले ऋण तिर्ने योजना पेश नगरेको र किस्ता पनि ३ वर्षदेखि नआएको विषयमा गम्भीर छलफल भइरहेको बताए । उनका अनुसार निगमले साउदी अरेबियामा उडान शुरू भएपछि किस्ता नियमित तिर्ने प्रतिबद्धता दिएको छ तर ऋणको किस्ता आउने विषयमा भने भरपर्दो आधार निगमले पेश गर्न नसकेको पनि सिलवालले जानकारी दिए ।
टायर पड्किएको जहाज अझै अलपत्र, ४ दिनपछि यात्रुको उद्धार
निगमको जहाज थाइल्यान्डमा उड्नै लाग्दा २ वटा टायर एकैपटक पड्किएर शुक्रवारदेखि उतै थन्किएको छ ।
निगमको एक न्यारोबडी जहाज शुक्रवार साँझ काठमाडौं उड्ने क्रममा धावन मार्गमा गुड्दै गर्दा २ वटा टायर पड्किएको छ ।
टायर फेरेर तुरुन्तै यात्रुलाई काठमाडौं ल्याउने भनेर निगमले पर्खाउँदा–पर्खाउँदै ४ दिनसम्म टायर फेरिएन । १५५ जना यात्रु थाइल्यान्डको सुवर्णभूमि एयरपोर्टमै अलपत्र परेपछि निगमले सोमवार साँझ वाइडबडी जहाज पठाएर यात्रु काठमाडौं ल्याएको छ तर पड्किएको टायरको अझै मर्मत नहुँदा जहाज कहिले काठमाडौं आउने भन्ने नै अनिश्चित भएको निगमका एक उच्च अधिकारीले बताए ।
उनका अनुसार जहाजको टायर पड्किएर उडान नभएपछि तुरुन्तै मर्मत गर्न काठमाडौंबाट इन्जिनीयर जानुपर्ने थियो वा उतैको इन्जिनीयरलाई छिटो बनाउन भन्नुपर्ने थियो । निगमको जहाजको टायर मर्मत गर्न एरो थाइको इन्जिनीयर प्रयोग भएको थियो । जहाजको टायर मर्मत गरेपछि फेरि ब्रेक भाँचिएको भन्दै थाइको इन्जिनीयरले जहाज तयार नभएको बताएको निगमले जानकारी दिएको छ ।
निगमका अनुसार जहाज खरिद गर्दै ‘ब्रेक फ्यान’ छैन । ब्रेकलाई चिसो बनाइराख्न आवश्यक पर्ने ब्रेक फ्यान प्रयोग नगरी निगम व्यवस्थापनले जहाज किन्नु उतिबेलै गल्ती भएको थियो । त्यसको सजाय अहिले भोग्नुपरेको निगमका अधिकारीको भनाइ छ । ब्रेक फ्यान नहुँदा जहाज अवतरण गरेर ब्रेक चिसो नभएसम्म उड्न मिल्दैन भने आकस्मिक ब्रेक लगाउँदा बढी तात्ने समस्या हुन्छ ।
यसको समस्या नै जहाजको ब्रेक चिस्याउन उपकरण जडान नहुनु भएको निगमको भनाइ छ ।
निगमका अनुसार जहाज शुक्रवारदेखि नै थन्किएको भए पनि निगमले आइतवार मात्रै काठमाडौंबाट पांग्रा पठाएको थियो तर भन्सार चाँजपासका कारण ढिलो भएर सोमवार मात्रै मर्मत भएको थियो । पांग्रा मर्मत भए पनि फेरि ब्रेक चाहियो भनेपछि अब अर्को प्रक्रियामा जानुपरेका कारण जहाज अड्किएको निगमको भनाइ छ ।
निगमका एक उच्च अधिकारीका अनुसार इन्जिनीयरिङ विभागको कमजोरीका कारण जहाज थाइल्यान्डमा अलपत्र परिरहेको छ ।