
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले गठबन्धनका दलहरूसँग वार्ता गर्न समिति गठन गरेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठकले प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो ।
वार्ता समितिको सदस्यमा भरत शाह, भुवनप्रसाद श्रेष्ठ, राजु खनाल र प्रकाश राना छन् । निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सभापति अमरसिंह पुनले सबैलाई न्यायोचित हुने गरी गठबन्धन दलसँग तालमेल गर्न वार्ता समिति गठन गरेको बताए ।
बैठकले प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्डविक्रम न्यौपानेको संयोजकत्वमा १ हजार १०१ जनाको प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले सभापति पुनको संयोजकत्व रहने र त्यसमा नेता भरतकुमार शाह तथा सम्पूर्ण पदाधिकारी, प्रदेश अन्तर्गत जिल्ला सभापतिहरू लगायत सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको उनले बताए ।
बैठकले माधव खरेलको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ । जसको सदस्यमा महेन्द्र पाण्डे, प्रेमलता भट्ट र कृष्णप्रसाद अधिकारी छन् ।
सभापति पुनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र लेख्न विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय समितिको गठन गरिएको बताए ।