
‘लोकान्तर राउण्ड अप’ को आजको श्रृङ्खलामा पाठकवृन्दलाई स्वागत छ । अरु दिनझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम संचालक समितिको बैठकले गएराति १२ बजेदेखि नै लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको तथा भारतीय आयल निगमले नयाँ मूल्य सूची पठाएपछि निगमले पनि मूल्यवृद्धिको निर्णय लिएको बताइएको छ ।
निगमका सहप्रवक्ता पुुस्कर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ कायम गरिएको छ । यसैगरी हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ भने हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ५४५ कायम गरिएको निगमले जनाएको छ ।
निगमले खाना पकाउने ग्यासको मूल्य पनि वृद्धि गरेको छ । नयाँ मूल्य १६ सय रुपैयाँ कायम भएको हो । यसअघि १५७५ रुपैयाँमा ग्यास विक्री हुँदै आएको थियो । मूल्यवृद्धि पछि पनि निगम घाटामा रहेको विज्ञप्तिमा उल्लेख छ ।
००००
पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ। अघिल्लो आर्थिक वर्ष २० ७७–०७८ को अन्त्यसम्ममा ११ महिनाको वस्तु र १० महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेकोमा चालू आर्थिक वर्षको ८ महिनामा अवधिमा ६ महिनाको आसपासमा झरेको बताइन्छ।
राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने पनि ७ महिनामा विदेशी विनिमय सञ्चिति घटेर ६।७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने अवस्थामा पुगेको देखिन्छ।
००००
पाँच दलीय गठबन्धनको बैठकले देशको अर्थतन्त्र सुधारका लागि बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान बसेको गठबन्धनको बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तक्र्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेसमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी भएका थिए ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणको ब्रिफिङ भएको थियो । बैठकले प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ ।
त्यसैगरी, कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठनको निर्णय पनि गठबन्धन बैठकले गरेको छ ।
००००
निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा तनाव सिर्जना भएको छ । निर्वाचन आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको थियो ।
छलफलमा सहभागी हुन गएका केही साना राजनीतिक दलका नेताहरूले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको इसारामा चलेको भन्दै विरोध गरेका थिए ।
केही नेताहरूले बैठकस्थलमै निर्वाचन आयोगविरुद्ध नाराबाजी समेत गरेका थिए । छलफल तनावग्रस्त भएपछि केहीबेर आयोगले छलफल नै रोकेको थियो ।
००००
यसैबीच राजनीतिक दलहरूलाई निर्वाचन आयोगले ६० बुँदे निर्देशन दिएको छ ।
००००
पछिल्लो २४ घण्टामा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५८७ नमूना परीक्षणमध्ये २४ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
००००
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव रमेश सिलवालले दर्ता गराएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम सम्पन्न भइसकेपछि पनि ठेकेदारको भुक्तानी रोकिएको भन्दै तत्काल भुक्तानी दिन आग्रह गरेका छन् ।
सरकारले भुक्तानी नदिए एमालेको सरकार बनेपछि नयाँ सरकारले दिने उनले बताए ।
पर्साको वीरगञ्जमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ठेकेदारले समयमा भुक्तानी नपाए अन्य काम गर्न नसक्ने भन्दै भुक्तानी दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
००००
काठमाडौं जिल्ला अदालतका न्यायाधीशद्वय सूर्यप्रसाद अधिकारी र अम्बिका निरौलालाई जिम्मेवारीमुक्त गर्दै काजमा सर्वोच्च अदालत सरुवा गरिएको छ ।
ती दुई जना न्यायाधीशहरूले गरेको फैसलालाई लिएर कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले चैत १४ गते नै काज सरुवा गरेका हुन् ।
००००
काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह मंगलवारदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले वीरगञ्जबाट डिजिटल लकसहित आएको ३ वटा कन्टेनर बन्दरगाहमा प्रवेश गराएर औपचारिक उद्घाटन गरेका हुन् ।
००००
नेपाली कांग्रेसले आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश तहदेखि टोल एकाइ समितिसम्म स्थानीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्न भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको मंगलबार बसेको बैठकले सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाले स्थानीय निकायको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको हो ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । उनले उधारो आश्वासन नमान्ने भन्दै नगदमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए । नवलपरासीस्थित पाल्हीनन्दन–५ गेरमीमा पार्टीको जिल्ला समितिले आयोजना गरेको जनसभामा उनले यस्तो बताएका हुन् ।
००००
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ अध्यादेश जारी भएका छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश जारी भएको जनाएका छन् ।
विज्ञप्तिअनुसार यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ लगायत छन् ।
००००
नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नपुग्दै धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ‘हरि’ नेकपा माओवादी केन्द्रमै फर्किएका छन् ।
२०७४ सालको स्थानीय चुनावमा डल्लाकोटी माओवादीबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उनी सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाउँदै एमाले प्रवेश गरेका थिए ।
००००
नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भइरहेको मतगणनामा सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दल निकट कानून व्यवसायीको अग्रता कायम छ । साँझ साढे ६ बजेसम्म १ हजार २४६ मत मतगणना हुँदा गठबन्धनका अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले ७७७ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।
००००
लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानीको गुरुयोजना स्वीकृत गरेको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले दाङको भालुवाङमा निर्माण हुने गुरुयोजना स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।
००००
शेयर बजार मापक सूचक नेप्से मंगलवार ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा आइपुगेको छ । शेयर बजार उल्लेख्य अंकमा घटेको भए पनि दुई कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।