१० साउन २०८३, आइतबार

अर्थमन्त्रीलाई राष्ट्र बैंकका १५ सुझाव, असार मसान्तसम्म विलासी वस्तु आयातमा रोक लगाऔं

अर्थमन्त्रीलाई राष्ट्र बैंकका १५ सुझाव, असार मसान्तसम्म विलासी वस्तु आयातमा रोक लगाऔं

नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई कम्तीमा आगामी असार मसान्तसम्म सवारीसाधनमा रोक लगाउनुपर्नेसहितका १५ बुँदे सुझाव दिएको छ । 

सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेर इन्धनको खपत घटाउने, सातामा २ दिन बिदा दिने, विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्ने, बैंकबाट प्रवाह हुने कर्जाको सीमा घटाउनेसहितको सुझाव दिइएको हो । 

सरकारले ग्यासमा दिएको अनुदान हटाउन पनि सुझाव दिएको छ । सरकारले ग्यासमा अनुदान दिएकै कारण उपभोक्ताले आयल निगमको लागत मूल्य भन्दा कममा ग्यास प्रयोग गर्न पाएका छन् । हाल ग्यासको मूल्य प्रतिसिलिण्डर १६ सय रूपैयाँ छ ।

अनुदान हटाउने हो भने ग्यासमा भएको प्रतिसिलिण्डर ९३२ रूपैयाँ थप भएर ग्यासको भाउ प्रतिसिलिण्डर २५ सय ३२ रूपैयाँ पुग्ने छ । ग्यासको अनुदान हटाएपछि विद्युत सस्तो पर्ने र उपभोक्ताले ग्यास कम खपत गर्ने अनुमानसहित यस्तो सुझाव दिइएको हो । 

राष्ट्र बैंकले यस्तो सुझाव अर्थलाई १६ चैतमै बुझाएको हो ।

आयल निगमले पनि तेलको खपत कम गर्न २ दिन बिदा दिने, जोरबिजोर प्रणाली लागू गर्ने, विद्युतीय सवारी र चुल्होको प्रयोग बढाउने, सार्वजनिक सवारीको प्रयोग बढी गर्नेसहितको १० बुँदे सुझाव निगमको तालुक निकाय उद्योग मन्त्रालयलाई १५ चैतमै दिएको थियो ।

यस्तो छ अर्थ मन्त्रालयलाई राष्ट्र बैंकले दिएको १५ सुझाव

१. काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरहरूमा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने । बैंकबाट प्रवाह हुने कर्जाको सीमा घटाउनेसहितको सुझाव दिएको छ । 

२. काठमाडौं उपत्यकाभित्रका सबै सरकारी एवम सार्वजनिक निकायहरूमा हप्ताको ५ दिन कार्यालय समय १ घण्टा थप गरी शनिवार र आइतवार विदा दिने । 

३. निजी सवारी साधन (चार पाङ्ग्रे तथा मोटरसाइकल)को आयातमा भन्सार लगायतका कर थप गर्ने । नगद मार्जिनका माध्यमबाट आयात निरुत्साहन गर्ने । साथै बैंक कर्जाको हालको सीमा घटाउने । विद्यमान अवस्थामा सुधार नभएसम्मका लागि कम्तिमा पनि २०७९ असारमसान्तसम्म निजी सवारी साधान आयातमा पूर्ण रूपमा रोक लगाउने ।

४. नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थको कुल बिल भुक्तानी मासिक १२-१३ अर्बको सीमाभित्र रहने गरी आपूर्ति व्यवस्थापन घटाउने । 

५. विद्युत्को घरेलु उपभोग बढाउन महसुल घटाउने तथा घरेलु विद्युतीय उपकरण (इन्डक्सन) चुल्हो, हिटर, कुकर, आदि)का खरिदमा अनुदान प्रदान गर्ने, एलपी ग्यासमा रहेको अनुदान तत्काल खारेज गर्ने । 

६. पेट्रोलिय पदार्थको आयातलाई आगामी ५ वर्षमा कम्तिमा २० प्रतिशतले कम गर्ने नीति अबलम्बन गरी सर्वाजनिक तथा निजी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने ।

७. अत्यावश्यक बाहेक व्यापारिक वस्तुको आयातमा कुनै पनि प्रकारको कर्जा प्रवाह नगरिने व्यवस्था लागू गर्ने । 

८. उच्च मूल्यका टेलिभिजन, मोबाइल सेट, मदिरालगायतका विलासिताका सामानको आयातलाई भन्सार तथा करका माध्यमबाट नियन्त्रण गर्ने ।

९. सुपारी, छोकडा, मरिच, केराउ, पोस्तादाना जस्ता स्थानीय रूपमा उल्लेखनीय उपभोग नहुने किसिमका उपभोग्य बस्तु आयातमा नियन्त्रण गर्ने । 

१०. नेपाल भ्रमण गर्न चाहने पर्यटकलाई भिसा तथा नवीकरण शुल्क, प्रवेश, शुल्क, रोयल्टी जस्ता भुक्तानी तथा सेवाहरू तत्कालै अनलाइन माध्यमबाट सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाउने । 

११. विगतमा स्थगित गरिएका नेपाल भ्रमण वर्षका कार्यक्रमहरूलाई आगामी वर्षको लागि घोषणा गरी सञ्चालन गर्ने ।

१२. हुण्डीलगायत विदेशी विनियम अपचलनसम्बन्धी कारोबारको प्रभावकारी रूपमा अनुगमन गरी त्यसमा संलग्न व्यक्ति तथा संस्थाहरूलाई कडाभन्दा कडा दण्ड/सजाय दिने व्यवस्था गर्ने । साथै व्यापारमा न्यून बिजकीकरण गर्ने व्यापारीलाई अनुसन्धानको दायरामा ल्याउने । 

१३. विप्रेषण पठाउने र प्राप्त गर्नेको सहजताको लागि हप्तामा सातै दिन/चौबीसै घण्टा सहयोगी कक्षको अनिवार्य व्यवस्था गर्ने । 

१४. विप्रेषण पठाउँदा लाग्ने सेवा शुल्कमध्ये कम्तिमा पनि ५० प्रतिशत शुल्कमा अनुदानको व्यवस्था गरी विप्रेषकको खातामा तत्काल जम्मा हुने व्यवस्था गर्ने । 

१५ इन्डो नेपाल रेमिट्यान्सलाई विस्तार गर्न भारत सरकार र रिजर्भ बैंक अफ इन्डियासँग थप सहकार्य गरी भारतबाट आउने अनौपचारिक विप्रेषणलाई औपचारिक माध्यमबाट ल्याउन उच्च तहमा वार्ता गर्ने ।

salt training

कमेन्ट गर्नुहोस्