
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ 'मनाङे' ले आफ्नै मन्त्रालयका कर्मचारीलाई कुटपिट गरेका छन् ।
मन्त्रालयका एक कर्मचारीका अनुसार मंगलवार अपरान्ह ४ बजेतिर मन्त्री गुरुङले आफ्नै कार्यकक्षमा मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझालाई कुटपिट गरेका हुन् ।
'मन्त्रीज्यूले आफ्नै कार्यकक्षमा सूचना अधिकारी ओझालाई लात्ती हान्नुभयो,' ती कर्मचारीले लोकान्तरलाई भने, 'अनुदानको मापदण्ड बनाउने विषयमा विवाद भएर मन्त्रीज्यूले झम्टिएर कुटपिट गर्नुभएको हो, अरू सबै कुरा त प्रष्ट भएको छैन ।'
यस विषयमा मन्त्री गुरुङका सचिवालय अधिकृत राजेन्द्रप्रसाद आचार्यले कुटपिट भए/नभएको यकिन नभएको बताउँछन् ।
'मन्त्रीज्यू र सूचना अधिकृत ओझा सरबीचमा केही भनाभन भएको त पक्कै हो, तर मन्त्रीज्यूले कुटपिट गर्नु भएको हो वा होइन भन्ने कुरामा म स्योर छैन,' आचार्यले लोकान्तरसँग भने, 'क्याबिनेटको बैठकमा प्रस्ताव लग्नका लागि म मुख्यमन्त्री कार्यालयतर्फ गएको थिएँ, त्यसकारण सत्यतथ्य के हो थाहा भएन ।'
यस विषयमा कुट्ने मन्त्री गुरुङ र कुटाइ खाएका ओझासँग सम्पर्क गर्न खोज्दा दुवैको मोबाइल अफ छ ।