
युक्रेनको राजधानी किएभभन्दा केही टाढा रहेको बुचा शहरमा रुसी सैनिकहरूले निर्दोष व्यक्तिको सामूहिक हत्या गरेको आरोप छ ।
बालबालिका र वृद्धवृद्धालाई समेत तारो बनाइएको छ ।
रुसले चाहिँ आफू निर्दोषहरूको हत्यामा संलग्न नरहेको बताएको छ ।
रुसको दाबीलाई खारेज गर्दै युक्रेनले हत्या गराउने रुसी कमान्डरको नाम पनि सार्वजनिक गरेको छ ।
लेफ्टिनेन्ट कर्नल अजात्बेक ओकुरबेकोभ ती कमान्डर हुन् । उनी ६४औं मोटरराइफल ब्रिगेडका कमान्डर हुन् । बुचा कब्जा गर्ने जिम्मेवारी उनलाई दिइएको थियो ।
गत साता बुचाबाट हट्नुअघि ओमुरबेकोभको निर्देशनमा रुसी सैनिकहरूले युक्रेनी सर्वसाधारणको हत्या गरेको आरोप छ ।
उनले नै रुसी सैनिकहरूलाई सर्वसाधारणको हात पछाडितिर बाँध्न र गोली हान्न निर्देशन दिएको बताइएको छ ।
ओमुरबेकोभ ४० वर्षका छन् । सन् २०१४ मा उनलाई रुसले विशिष्ट सेवा मेडल दिएर सम्मान गरेको थियो ।
सन् २०२१ मा उनले रुसका अर्थोडक्स चर्चका पादरीहरूसँग भेटघाट गरेको देखिएको थियो ।
बुचामा सामूहिक हत्या गरे ओमुरबेकोभको बटालियन बेलारुस पुगेको बताइएको छ । त्यस बटालियनलाई खार्किभ पठाउन सकिने अनुमान छ ।