
नेपाली नयाँ वर्षको अवसरमा अमेरिकाको सान् फ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ हुने भएको छ ।
एनआरएनए यूएसए वेस्टकोस्ट रिजन र क्यालिफोर्निया च्याप्टरको आयोजनामा कार्यक्रम हुने भएको हो ।
अप्रिल ९ मा हुने परेडको तयारी पनि पूरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा अमेरिकाका विभिन्न राज्य र क्यालिफोर्नियाका विभिन्न शहरहरूबाट हजारौंको संख्यामा सहभागी उपस्थित हुने एनआरएनए यूएसए वेस्ट कोस्ट रिजनका अध्यक्ष श्रीराम थापाले जानकारी दिए ।
बाहिरबाट आउनेहरुका लागि सान् फ्रान्सिस्को फाईनान्सियल डिस्ट्रिक्टमा रहेको होटेल हिलटनमा कोठाहरु बुकिङ गरिएको र विमानस्थलबाट पिकअप र ड्रपअफको समेत व्यवस्था गरिएको कार्यक्रमका हस्पिटालिटी एण्ड मेनेजमेन्ट संयोजक रविसिंह बस्नेतले बताए ।
विभिन्न संस्थाहरूले आफ्नो समुदायअनुसार विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने झाँकी र भेषभुषासहित परेडमा सहभागी हुने परेड संघ संस्था संयोजन समिति संयोजक उत्तम कार्कीले जानकारी दिए ।
सोही साँझ सान् फ्रान्सिस्कोकै युनाइटेड आइरिस कल्चर सेन्टरको हलमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, दोहोरी गायक मिलन लामा, गायिका संगिता थापा मगर, गायक उदय भट्टराईलगायत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मल फुयांलले बताए ।
प्रवेश शुल्क ३० डलर तोकिएको साँझको सांस्कृतिक कार्यक्रममा डिनरको पनि व्यवस्था गरिएको छ । टिकट थिंग्स नेपाली डटकमबाट अनलाइन काट्न सकिने कार्यक्रमका आईटी एवं डिजाइनिङ संयोजक अभिषेक ज्ञवालीले जानकारी दिए ।
बिहानको परेड र साँझको सांस्कृतिक कार्यक्रमको कुल खर्च ३५ हजार डलर हुने अनुमान आयोजकले गरेको छ । खर्च व्यवस्थापन र सहयोग संकलनको लागि बनेको राजेश थापा, नारायण खनाल र प्रितेश कार्कीको आर्थिक समितिले आवश्यक बजेटको ९० प्रतिशतभन्दा बढी संकलन गरिसकेको अमेरिकाबाट राजन कँडेलले जानकारी दिए ।