
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताएका छन् ।
भूमिहीन, दलितलाई जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताए ।
प्रचण्डले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न क्रियाशील रहेको बताए । उनले भने, ‘सबै आ–आफ्नो ठाउँबाट लचिलो भई त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन ।’
वर्षौंदेखि आफ्नो पार्टीले भूमिहीन समुदायलाई भूमिपति बनाउने संघर्षको सार्थकरूपको शुरूआत चितवनको भरतपुरबाट शुरू भएको उनको भनाइ छ । विक्रम संवत् २०३६ सालमा भूमिहीनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको शुरूआत गरेको भन्दै भूमि प्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहीनहरूलाई भूमिपति बनाउन सरकार र भूमि आयोगका पदाधिकारीलाई आग्रह गरे ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा प्रदान गरेर भूमि प्राप्तिको अभियानलाई निरन्तरता दिइने बताए । मन्त्री श्रेष्ठले भूमिहीनलाई लालपूर्जा दिने कार्य कुनै पनि निर्वाचनले नरोक्ने बताए ।
असली भूमिहीन नछुट्न भन्नेमा सरकार र पार्टी प्रतिबद्ध भएको भन्दै उनले चितवनबाट यसको शुरूआत गरिएको बताए । उनले भने, ‘कोही भूमिहीन नछुटुन् र कोही गैरभूमिपतिहरूले भूमिहीनको नाममा जग्गा नपाउन् भन्नेमा समेत आयोगका पदाधिकारी तथा कर्मचारीहरू सजग हुनुपर्छ ।’