सास हुने बेलासम्म आश रहन्छ भन्छन्, त्यस्तै आफ्नो ठगिएको पैसा फर्किएला कि भन्ने आशमा बसेको एक बर्ष बित्दा पनि पोर्चुगलका श्रमिकहरुको आशा झन् झन्- निराशामा बदलिएको छ। अब त उनीहरु थाकिसकेका छन्, हारिसकेका छन्। केही आशा जिवित थियो- यहाँ रहेका दर्जनौ संघ संस्थाहरुले न्यायका लागि केही पहल गर्छन् कि भन्ने । तर सबैले रमिता हेरेर बस्दा उनीहरुलाई समाजसेवा भन्ने शब्द नै मजाक जस्तो लाग्न थालेको छ।
ठीक एक वर्ष अगाडि पोर्चुगलमा लक्ष्मी ट्राभल्स नामको फर्जी कारोबारी समूहले सयौँ नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई फर्जी हवाई टिकट भिडाएर करोडौँ रुपैया झ्वाम् पारेको थियो। नेपाल जान हिँडेका पीडितहरु विमानस्थलमा अलपत्र परेका थिए। तर टिकट ठगी काण्डको एक बर्ष पुग्दा पनि पीडितले कुनै न्याय नपाएको गुनासो गरेका छन्।
बरु आफूहरुलाई ठग्ने विक्रमजङ्ग कुँवर पोर्चुगलका नेपाली नेता, समाजसेवी भनिएर चिनिन रुचाउने मान्छेहरु, व्यापारीहरूसँग गर्वका साथ छाती फुलाएर खुलमखुला हिँड्ने गरेको उनीहरुले बताएका छन्। पैसा मागेर तनाब दिने हो भने मान्छे लगाएर कुटपिट गर्ने धम्की समेत पीडितहरुलाई आउने गरेको छ।
नाम नखुलाउने सर्तमा एकजना पीडित भन्छिन्-“ मैले खेतीमा मरी मरी आँशु बगाएर कमाएको ७ सय युरोले यीनीहरुको सात पुस्तालाई खान पुगोस् , एकदिन भगवानले त देख्लान् नि भनेर सबैकुरा बिर्सिएको छु।” उनी थप्छिन्- अरुलाई रुवाएर कमाएको पैसाले अझ चिल्लो कार चढेर हिँड्छन्।”
सरोकारवाला निकायले आरोपितसँग नै मिलेर पीडितहरुलाई झन् धेरै पीडा दिएको केहीको आरोप छ। गोर्खा घर भएकी एकजना पीडित भन्छिन्- “यहाँ काउन्सिलर कि के भन्ने रहेछ, त्यहाँको सरले पटक-पटक छलफल त गर्नुभयो, न्याय दिलाएरै छाड्छु भन्नु भयो । तर अहिले त आइनोकाइनो नै गर्नु हुन्न। सायद उहाँ पनि डराउनु भयो कि जस्तो छ।” उनले आफूलाई नेपाल हुँदा नलागेको डर पोर्चुगल आएपछि लाग्न थालेको बताइन्।
फर्जी टिकटमा नै ठगिएका बिजय मोक्तानले “आफूले दु:ख गरेर कमाएको त्यो पैसा अब माया मारेको र आफ्नै ग्रह दशा शान्ति होस् भनेर दान गरेको” बताए। त्यसैगरी एकेन्द्र क्षेत्रीले “आफ्नो फसेको पैसा माग्ने चक्करमा उल्टै ३-४ सय युरो सकिएको कारण अब पुरानो कुरा बिर्सिएको” बताए। त्यस्तै जिनाथ सापकोटाले पनि आफ्नो ६५० युरो अहिलेसम्म फिर्ता नआएकोमा आक्रोश व्यक्त गरे।
एक वर्ष अगाडि पोर्चुगलको लिस्बनमा संचालनमा रहेको लक्ष्मी ट्राभल्सले सयौ नेपालीबाट करोडौँ रुपैयाँ ठगेको पहिलो पटक लोकान्तर अनलाईनमा समाचार आएको थियो। त्यतिखेर एनआरएन पोर्चुगलले समस्या समधानका लागि पहलकदमी लिएको थियो। अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय बैठकमा कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो। पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदूतावासमा तथा एनआरएनए पोर्चुगलमा लिखित तथा मौखिक १५० भन्दा बढी उजुरी परेको थियो।
त्यसपश्चात कुँवर प्रहरीको सम्पर्कमा आएका थिए । तर पछि उनी कता गए पीडितहरुलाई केही थाहा छैन। विदेशमा हुने ठुला ठगी प्रकरणमा नेपाल सरकारले नेपालबाट नै कारबाही प्रकिया अगाडि बढाउने गरेको छ। विदेशमा रहे पनि कैयौँ आरोपित, अपराधीहरू पक्राउ परेका छन्। तर पोर्चुगलमा त्यति ठुलो परिणाममा श्रमिकहरु ठगिँदा पनि नेपाली सरोकारवाला निकाय मौन छ।