अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसले नरसंहार गरेको भनी दिएको बयानमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले आपत्ति जनाएका छन् ।
यस्ता किसिमका उत्तेजक अभिव्यक्तिले युद्ध अन्त्य गर्न सहयोग नपुग्ने म्याक्रोंको भनाइ छ ।
मंगलवार बाइडनले युक्रेन द्वन्द्वका विषयमा टिप्पणी गर्दै रुसले नरसंहार गरेको र युक्रेनको अस्तित्व नै मटाउन खोजेको जस्तो देखिएको बताएका थिए ।
तर फ्रान्स २ टेलिभिजनसँग कुरा गर्दै म्याक्रोंले नेताहरूमा भाषिक मर्यादा हुनुपर्ने बताए ।
रुसले युक्रेनविरुद्ध चलाएको युद्ध वीभत्स रहेको अनि युद्धअपराधका घटना पनि देखिएको तर यो नरसंहार नभएको म्याक्रोंले बताए । रुसी र युक्रेनीहरू दाजुभाइ भएकाले रुसले युक्रेनीको नरसंहार गर्ने प्रश्न नउठ्ने उनको भनाइ छ ।
म्याक्रोंले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग संवाद कायम राख्न खोजेका छन् । गत मार्च महिनामा बाइडनले पुटिनलाई कसाई भन्दा पनि म्याक्रोंले चित्त बुझाएका थिएनन् ।
आफूले आगामी दिनमा पुटिन र जेलेन्स्कीसँग फोनमा कुराकानी गर्ने पनि म्याक्रोंले बताएका छन् ।