१२ साउन २०८३, मंगलबार

नयाँ वर्षको शुभकामना दिँदै खिलराजले भने– अर्थतन्त्र सम्हाल्दै राजनीतिक स्थायित्वतर्फ लागौं

नयाँ वर्षको शुभकामना दिँदै खिलराजले भने– अर्थतन्त्र सम्हाल्दै राजनीतिक स्थायित्वतर्फ लागौं

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले भोलिदेखि शुरू हुन लागेको नयाँ वर्ष २०७९ साल राजनीतिक स्थिरतासहित सबल राष्ट्रको रूपमा पहिचान दिँदै अघि बढ्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आचारसंहिताको परिपालना र निर्वाचनलाई कम खर्चिलो बनाई स्वच्छ र निष्पक्ष बनाउनु पर्ने बताए । 

नयाँ वर्ष २०७९ को शुभकामना दिँदै रेग्मीले प्रत्यक्ष प्रजातन्त्रको प्रारूप मानिने स्थानीय निर्वाचनमा राजनीतिक दलहरूले योग्य र राम्रा मान्छे उमेदवार छान्ने विश्वास व्यक्त गरेका हुन् । 

‘यो वर्ष निर्वाचन वर्षको रूपमा आउँदैछ । पहिलो निर्वाचन स्थानीय पालिकहरूको छ– वैशाख ३० गते । राजनीति जनताकै बलमा जनताकै लागि गरिने हो । स्थानीय निर्वाचनलाई प्रत्यक्ष प्रजातन्त्रको प्रारूप पनि मान्न सकिन्छ । राजनीतिक दलहरूले हाम्रा मान्छे होइन योग्य र राम्रा मान्छे उमेदवार छान्ने र प्रत्यक्ष देखेभोगेका जनताले पनि निष्कलंक, कर्मशील एवं जनताको सुख दुःखप्रति प्रतिबद्ध व्यक्ति छान्न सके गाउँकै विकास र भलाइ हुन्छ भन्ने कुरा अब पनि नबुझे कहिले बुझ्ने ?’ रेग्मीले शुभकामना सन्देशमा भनेका छन्, ‘अनि पछि परिणाम राम्रो खोज्ने, गुनासो गर्ने ठाउँ कहाँ पो रहन्छ र आफैं चुकेपछि । वस्तुतः आचारसंहिताको परिपालना र निर्वाचनलाई कम खर्चिलो बनाइ स्वच्छ र निष्पक्ष बनाउनु आजको आवश्यकता हो ।’

पूर्वअध्यक्ष रेग्मीले अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले बढी सन्तुलित एवं विश्वसनीय सबल राष्ट्रको रूपमा पहिचान दिँदै अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । ‘सकारात्मक सोच र दृढ इच्छाशक्तिका साथ विगतका कमी कमजोरीको समीक्षा गर्दै बिग्रँदो अर्थतन्त्रलाई बेलैमा सम्हाल्दै राजनीतिक दलहरू, नेतृत्व तहका व्यक्तिहरू र नेपाली मात्रले यो २०७९ सालमा राजनीतिक रूपले स्थिर र सबल, विकास र समृद्धिका सही नीति र कार्यदिशा अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले बढी सन्तुलित एवं विश्वसनीय बनाई स्वस्थ एवं सबल राष्ट्रको रूपमा पहिचान दिँदै अघि बढ्न सफल होऔं भन्ने कामना गर्दछु,’ रेग्मीले भनेका छन् । 

२०७० सालमा संविधानसभाको सफल चुनाव गर्ने सरकारको नेतृत्व गरेका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य हुनुपर्ने बताएका छन् ।

‘तर हामी त्यसतर्फ कति केन्द्रित भयौं समिक्षा गर्नुपर्ने आवश्यकता छ । खेतबारी बाँझो राखेर विदेशी श्रम बजारमा नौजवान पाखुराहरू पठाएर दिगो विकास र समृद्धि कसरी आउला र ?’ शुभकामना मन्तव्यमा रेग्मीले भनेका छन्, ‘विप्रेषणले आयातमुखी अर्थतन्त्र र उपभोक्तावादी संस्कृतिलाई बढावा दिने हो । उत्पादकत्व वृद्धि र रोजगारीमूलक आर्थिक विकासका गतिविधि निर्माण नगरेसम्म सेवा र सुविधाको नाममा वितरणमुखी बजेटको प्रवृत्ति र नीति रहेसम्म ऋण र अनुदानले आत्मनिर्भर होइन परमुखापेक्षी नै बनाउने हो ।’

पूर्वप्रधानन्यायाधीश समेत रहेका रेग्मीले राजनैतिक रूपले असंगतिपूर्ण अवस्थामा पुग्दा कार्यपालिका, न्यायपालिका र संसद् लगायत धेरै क्षेत्र लथालिंग अवस्थाउन्मुख रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्