
निर्वाचन आयोग नेपालले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरूलाई आग्रह गरेको छ ।
बिहीवार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।
पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरू तीव्रताका साथ अन्तिम चरणमा पुगेको भन्दै निर्वाचनप्रति संशय व्यक्त गर्ने अभिव्यक्तिहरुप्रति आयोगको ध्यानाकर्षण भएको बताए ।
उनले भने,'निर्वाचनका विषयमा अन्योलता सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिनुहुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।'
उनले आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको र हाल दैनिक ८ लाख थान मतपत्र छपाइ भइरहेको जानकारी दिए ।
प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन २०७९ को पर्यावेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिई पर्यवेक्षण अनुमतिका लागि गत चैत्र १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको जानकारी दिए ।
उक्त निवेदनमाथि जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धित निर्णय गर्ने पौडेलले बताए ।
उनले निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहज रुपमा जानकारी दिन बिहीवार (आज) बाट हरेक दिन स्थानीय तह निर्वाचन इ बुलेटिन प्रकाशन शुरु गर्ने बताए ।
प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा सम्पन्न भएको र जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा वैशाख २ गते हुने बताए ।
प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरुलाई नियुक्ति पत्र र आवश्यक सामग्री उपलब्ध गराइने पनि उनले बताए ।