
फौजी कीराको प्रकोपले देशभरका किसानले लगाएको मकैबालीमा क्षति पुर्याएको छ । तर, सरकारले त्यसको रोकथाम र नियन्त्रणका लागि ठोस कदम चालेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय यसमा बेखबर छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार हाल काठमाडौं उपत्यकालगायत तराई, पहाड र केही हिमाली जिल्लाको मकैखेतीमा फौजी कीराको प्रकोप बढिरहेको छ । त्यसको नियन्त्रण र रोकथामका लागि मन्त्रालय स्तरबाट केही पहल भएको छैन । विषादी व्यवस्थापन केन्द्र र कृषि मन्त्रालयसँग कीराको प्रकोपले हालसम्म केकति क्षेत्रफलमा क्षति गरेको छ, त्यसको यकिन तथ्यांकसम्म छैन ।
देशभर कीराको प्रकोप भए पनि विशेषगरी पश्चिम तराईका धेरै गर्मी हुने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, रूपन्देही, कपिलवस्तु र पूर्वी तराईका सुनसरी, रौतहट, सिराहा लगायत जिल्लामा प्रभाव बढी छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार त्यहाँमात्र ३५ सय ५० हेक्टर र बर्दियामा करीब ७ हजार हेक्टरको मकैबालीमा फौजीको प्रकोप फैलिएको छ । कैलालीमा ७ सय हेक्टर र दाङमा पनि यही अनुपातमा कीराको प्रकोप फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
सुनसरीका अगुवा कृषक भुवनेश्वर यादवका अनुसार त्यहाँ पनि करीब ८/९ सय हेक्टरको बालीमा प्रकोप फैलिएको छ । ‘कृषि ज्ञान केन्द्रदेखि स्थानीय तहबाट समेत रोकथाम तथा नियन्त्रणका लागि ठोस कदम चालिएको छैन । किसानलाई यसको नियन्त्रण कसरी गर्ने, कुन औषधि प्रयोग गर्ने भन्ने ज्ञान हुँदैन, सरकारी निकाय सबै बेखबर छन्,’ यादवले भने ।
कुनै कुनै जिल्लाको क्षति विवरण कृषि ज्ञान केन्द्रले राखे पनि अधिकांश जिल्लाको तथ्यांक सम्बद्ध स्थानीय र केन्द्र सरकारसँग छैन । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले देशका विभिन्न जिल्लामा कीराको प्रकोप बढेको खबर आएको तर नियन्त्रण र तथ्यांक संकलनको जिम्मेवारी पाएका निकायले क्षतिको विवरण नपठाएको बताए । ‘क्षतिको यकिन विवरण आएपछि त्यसैको आधारमा नियन्त्रण प्रयास थाल्ने र प्राविधिक पठाउने काम गर्ने हो । तर, स्थानीय स्तरमा जिम्मेवारी पाएका निकाय नै बेखबर भएर बसेपछि केन्द्रबाट मात्रै केही गर्न सकिँदैन,’ उनले भने ।
सूर्योदयदेखि सूर्यास्तसम्म लुकेर बस्ने र रातमा मकैको पात, डाँठ, घोगा र पछि गएर पूरै बोट सखाप पार्ने अमेरिकी फौजी कीरा नेपाल प्रवेश गरेको तीन वर्ष भयो । छोटो समयमै यहाँको पर्यावरणमा घुलमिल भइसकेकाले यसलाई अब पूर्णरूपमा निर्मूल गर्न सक्ने अवस्था छैन । नियन्त्रणका लागि अहिले खासै पहल गर्न नसकिएको हुमागाईंले बताए । आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले खबर लेखेका छन् ।