
लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरण, दाङको प्रमुख कार्यकारी निर्देशक (सीईओ) मा नियुक्त छवि पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत चैत २५ गते नियुक्त गरिएका नयाँ सीईओ पोखरेललाई शुक्रवार मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ गराएका हुन् ।
पोखरेल प्यूठानको ओखरकोट निवासी हुन् । उनी लामो समय सरकारको यसै क्षेत्रमा कार्यरत रहँदै आएका थिए ।
शपथ ग्रहण समारोहमा सीईओ पोखरेलले सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताए । आफू पनि यही प्रदेशको भएकोले अर्काे परिवर्तित सन्दर्भलाई सम्बोधन गर्न आफू तयार रहेको उनले बताए ।
पोखरेललाई शपथ गराउँदै मुख्यमन्त्री केसीले प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिन आग्रह गरे ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल भवनको टेन्डरमा चलखेल भएपछि तत्कालीन सीईओ अनन्तराज घिमिरेले राजीनामा दिएका थिए ।
अस्पतालको नयाँ भवन निर्माण गर्न गरिएको टेन्डर आह्वान चैत १४ गते रद्द भएको थियो । सात अर्बको ठेक्कामा डेढ अर्ब राज्यलाई व्ययभार पर्ने गरी सीमित ठेकेदार कम्पनीलाई पाउने गरी टेन्डर आह्वान भएको थियो ।
टेन्डर प्रक्रियाबारे छानबिन गर्न मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको नेतृत्वमा समिति बनाइएको थियो । उक्त समितिले तत्कालीन सीईओ घिमिरेलाई नै दोषी देखाएको छ ।