२५ जेठ २०८३, सोमबार

गाउँपालिकाका स्वर्गीय अध्यक्षविरुद्ध ५४ लाख बिगो दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर

गाउँपालिकाका स्वर्गीय अध्यक्षविरुद्ध ५४ लाख बिगो दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिसहित १४ जना तथा एक निर्माण कम्पनीविरुद्ध शुक्रवार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ ।

गाउँपालिकाका अध्यक्ष स्व. नवलसिंह रावल, उपाध्यक्ष पुजादेवी बुढामगर, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायी समेत १४ जना तथा एक निर्माण कम्पनीउपर राजस्व चुहावट गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको हो ।

गाउँपालिका भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलन सम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएकोमा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको भन्ने उजुरी परेको थियो ।

उजुरीमा अनुसन्धान हुँदा मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, वडा नम्बर २ का वडाध्यक्ष देवीदत्त उपाध्याय, वडा नम्बर १ का वडाध्यक्ष नविन पुन मगर, वडा नम्बर ७ का वडाध्यक्ष खरप्रसाद अधिकारी, वडा नम्बर ५ का वडाध्यक्ष छविलाल हौजाली मगर, वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर बोगटी, वडा नम्बर ६ का वडाध्यक्ष टिकाराम भण्डारी, वडा नम्बर ३ का वडाध्यक्ष नन्दराम गिरी, गाउँकार्यपालिका सदस्यहरू राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराईविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

गाउँ कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिवृद्धि कर बापतको रकम गरी जम्मा ५४  लाख १८ हजार ५६८ रुपैयाँ राजस्व हिनामिना गरिएको अभियोगसहित आरोपपत्र दर्ता भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू बडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकरबहादुर शाह समेतले पहिलो किस्ता बापतको कबोल अंक रकम शर्तबमोजिम सम्झौताका बखत जम्मा नगरी सम्झौता गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको र मिनाहाको माग गरी गाउँ कार्यपालिकाबाट निर्णय समेत गराई मिनाहा गराएको रकम, सोबापतको मूल्य अभिवृद्धि कर रकम र गाउँपालिकामा पहिलो किस्ता मानी ढिलो गरी बुझाएको रोयल्टीबापतको रकम, आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि करमध्ये नबुझाएको रकम गरी जम्मा ५६ लाख ३४८ रुपैयाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरिएको छ ।

मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष स्व. नवलसिंह रावल समेतले गाउँ कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको हुनाले उनीविरुद्ध पनि ५४ लाख १८ हजार ५६८ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ । रावलको मृत्यु भएको अनुसन्धानबाट देखिए पनि ‘अपराधीसँगै अपराध मर्दछ’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्वान्तको रूपमा कैद र सजाय हुन नसक्ने तर मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले स्व. नवलसिंह रावलको मृत्यु भइसके पनि निजको हकमा प्रचलित कानूनबमोजिम निजको हक खाने अंशियारबाट बिगो रकम असूल गर्न माग दाबी लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्