
नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आज देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
अन्य पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।
यसैगरी, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा भने हिटवेभ हुने सम्भावना रहेकाले बढ्दो गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। तराईका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
राती कोशी प्रदेश लगायत देशका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने रातीको मौसम पनि सफा रहने पूर्वानुमान गरिएको छ।