
लागूऔषध सेवन गरी चिनजानकै व्यक्तिको वीभत्स हत्या गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनीहरूमाथि २०७८ पुस ३ गते कैलालीको जानकी गाउँपालिका– ९ को अमरावती सामुदायिक जंगलमा सोही गाउँपालिकाका २५ वर्षीय अर्जुनकुमार दासलाई रुखमा बाँधेर घाँटी रेटी हत्या गरेको आरोप छ ।
महाशाखाले हत्यामा संलग्न भएको आरोपमा जानकी गाउँपालिका– ९ का १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बमबहादुर बोहोरा, १९ वर्षीय रानी परियार भन्ने दिलिप दास र १९ वर्षकै मनोज भण्डारीलाई पक्राउ गरी आज (शुक्रवार) सार्वजनिक गरेको छ ।
हत्या गरेर भारत फरार भएका उनीहरूलाई भैरहवास्थित बेलहिया नाकाको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार उनीहरू हत्यापछि रुपैडिहा नाका हुँदै भारतको कोलकत्ता, मुम्बइ, सिम्ला, पञ्जाब लगायतका स्थानमा पुगेको खुलेको छ ।
उनीहरूले मुम्बइबाट सामाजिक सञ्जालमा भिडियो समेत अपलोड गरेर आफूहरूलाई कसैले समाउन नसक्ने दाबी गरेका थिए ।
महाशाखाले उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागि कैलाली पठाएको छ ।
के थियो घटना ?
पुस १ गते युवतीसँग यौन गतिविधि गरिरहेको अवस्थामा युवतीका बुवाले देखेपछि कमल साउद नांगै भागेका थिए ।
उनलाई सुमित दासले कपडा दिएर सहयोग गरे । त्यो दिन त्यहाँबाट कमलको घरमा गएर दुवैजना सुते । सोही दिन कमलको मोबाइल हरायो ।
प्रहरी अनुसन्धानमा खुले अनुसार कमलले चोर दोष लगाउँदै सुमितलाई कुटपिट गरे ।
त्यही बीचमा मनोज भण्डारी र बमबहादुर बोहोराले कमलसँग भएको २५ हजार रुपैयाँ बराबरको ‘नाइट्राभेट–१०’ लागूऔषध ट्याबलेट चोरेर जंगलमा लुकाए ।
तर त्यो मोबाइल अर्जुन दासले चोरेर हर्के भाटलाई बिक्री गरेको कुरा सुमितले थाहा पाएपछि घटनाले अर्को मोड लियो ।
उनले मोबाइल फिर्ता ल्याएर कमललाई थिए ।
त्यसपछि उनीहरूले अर्जुनले मोबाइल चोर्दा हामीले दोष पाउनुपर्यो भन्दै उसलाई कुटपिट गर्ने योजना बनाए ।
अर्जुनलाई कुट्न मनोज भण्डारी, सुमित साउद, बमबहादुर बोहोरा, सुशील मयाल, दिलिप दास, बादल विक र करण दर्नालले योजना बनाएका थिए ।
पुस २ गते उनीहरूले लागूऔषध सेवनको बहानामा अर्जुनलाई जंगलमा बोलाए । सबैजनाले लागूऔषध सेवन गरेपछि आफूहरूले अनाहकमा कुटाइ खाएको र आरोप खेप्नुपरेको भन्दै अर्जुनलाई उनैले लगाएको बेल्ट र गञ्जी फुकालेर रुखमा बाँधे ।
रुखमा बाँधेपछि उनीहरू पुनः लागूऔषध सेवन गर्न थाले । ५ घण्टा रूखमा बाँधेपछि उनीहरू अर्जुनको हत्या गर्ने मनस्थितिमा पुगेको देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
हत्याका लागि खुकुरी सुशील मयालले आफ्नो घरबाट ल्याइदिएका थिए । राति ११ बजे मनोज भण्डारी लगायतले अर्जुनको टाउको छिनाएर २ फिट पर लगेर फालेको प्रहरीले जनाएको छ ।
उनीहरूले सो रात जंगलमै बिताएको र बिहान भएपछि भारततर्फ भागेको अनुसन्धानमा खुलेको छ ।