
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भए पनि मोरङमा भने अन्योल कायमै छ ।
विराटनगर महानगरपालिका र सुनवर्षी नगरपालिकामा गठबन्धन नगर्ने कांग्रेसले निर्णय गरे पनि केन्द्रले महानगरपालिकाको भागबण्डा टुंगाउने भएपछि मोरङमा कांग्रेस लचिलो भएको थियो ।
विभिन्न बहाना देखाएर गठबन्धनमा आबद्ध दलको बैठक कांग्रेसले सार्दै आइरहेको गठबन्धनमा आबद्ध दलहरूकै आरोप छ ।
तर, केन्द्रीय गठबन्धनको निर्णयपछि कांग्रेस मोरङका उपसभापति भक्ति माझीको संयोजकत्वमा एक समिति बनाइएको थियो ।
समितिले गठबन्धन गर्नका लागि आधारहरू तयार गरेर प्रतिवेदन बुझाउने र त्यसैका आधारमा भागबण्डा गर्ने सहमति भएको कांग्रेसका सभापति डिकबहादुर लिम्बुले बताए । सोही समितिको बैठक शुक्रवार कांग्रेसको पार्टी कार्यालयमा बसिरहेको थियो ।
बैठक बसिरहेकै बेलामा विराटनगर महानगरपालिका-६ का कांग्रेस कार्यकर्ताहरूले ‘गठबन्धन चाहिँदैन हामी आफैं सक्षम छौँ’ भन्ने नारा लगाउँदै सभापति लिम्बुको कार्यकक्ष घेरेका छन् । अघिल्लो चुनावमा विराटनगर–६ मा माओवादीले जितेको थियो ।
मोरङमा संस्थापनइतरका नेता डा. शेखर कोइराला समूहका नेताहरूको वर्चस्व रहेको छ । गत चुनावमा एक्लै मेयर, उपमेयरसहित जितेका पालिकामा अरूलाई नेतृत्व दिन नसकिने सभापति लिम्बुले बताए ।
मोरङका १७ स्थानीय तहमध्ये गत चुनावमा एक्लै भिड्दा कांग्रेसले विराटनगर महानगरपालिकासहित ९ स्थानीय तह जितेको थियो । उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरमा जितेको कांग्रेसले कटहरी, केराबारी, धनपालथान गाउँपालिका पनि जितेको थियो ।
बूढीगंगा गाउँपालिकामा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो । गच्छदारको दल कांग्रेसमा गाभिएपछि अहिले मोरङमा १० स्थानीय तहमा कांग्रेस नेतृत्व छ ।
‘१० स्थानीय तहमा तपाईंहरू दाबी नगरी दिनुहोस् भनेका छौँ,’ सभापति लिम्बुले भने, ‘अन्य पालिकामा सहकार्य गरौँ भनेका छौँ ।’
गत चुनावमा हार बेहोरेका पालिकामा समेत सुधार गरेको कांग्रेसको दाबी छ । माओवादीले भने कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीसँग गठबन्धन गर्न सकिने बताउँदै आएको छ ।
एमाले फुटेको र माओवादीको जनआधार कमजोर भएको भन्दै कांग्रेसले गठबन्धन दललाई हेप्न खोजेको गठबन्धनमा आबद्ध एक नेताले बताए ।
कांग्रेसभित्रै मतभेद
गठबन्धन गर्ने विषयमा कांग्रेसभित्र पनि दुई मत देखिएको छ ।
पद नपाउने भएपछि गठबन्धन गर्नु हुँदैन भनेर भन्ने गरेको कांग्रेसकै नेताहरू बताउँछन् ।
आफूले पद पाउँदा गठबन्धन ठिक छ भन्ने, नपाउँदा गर्नु हुँदैन भन्ने प्रवृत्ति देखिएको रतुवामाई नगरपालिकाका मेयर रविन राईले बताए । केन्द्रले गठबन्धन गर्ने निर्णय गरिसकेकाले त्यो निर्णयलाई मान्नु पर्ने उनको तर्क छ ।
केराबारी गाउँपालिकाका अध्यक्ष रोहितकुमार कार्की गठबन्धन गर्न नहुने तर्क राख्छन् । ‘अहिले पहिलाभन्दा धेरै मत आउने हाम्रो आकलन छ,’ कार्कीले भने, ‘हामीलाई गठबन्धन गर्ने पार्टीहरूले भोट हाल्छन् भन्ने पनि विश्वास छैन ।’
स्थानीय कार्यकर्ताले पनि गठबन्धन नगर्न सुझाव दिएको उनको दाबी छ ।