
नेकपा माओवादीका प्रदेश इञ्चार्जहरूले गठबन्धनका दलहरूबीच सैद्धान्तिक सहमति भएपनि चुनावी तालमेलमा अप्ठ्यारो रहेको बताएका छन् ।
नेपाली कांग्रेसले अधिकांश स्थानीय तहमा दाबी नछाडेको र नेकपा एसले पनि हैसियतभन्दा धेरै दाबी गरेकाले तालमेलमा अप्ठ्यारो भएको उनीहरूको ब्रिफिङ थियो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रवार पूर्व स्थायी कमिटी सदस्य र इञ्चार्जहरूको बैठकमा चुनावी तालमेल सहज नभएको रिपोर्टिङ भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार रिपोर्टिङ गरेका सबैले कतै पनि सहज नभएको बताएका थिए ।
मधेश प्रदेशका इञ्चार्ज गणेश साह, बागमतीका हितमान शाक्य, सूदूरपश्चिमका खगराज भट्टलगायतले तालमेल सहज नभएको बताएका थिए ।
प्रदेश १ का इन्चार्ज राम कार्की बैठकमा उपस्थित थिएनन् भने गण्डकी प्रदेशको बारेमा देवेन्द्र पौडेलले कुरा राखेका थिए ।
‘गठबन्धनबीच तालमेल गर्ने कुराले कार्यकर्तामा उत्साह त ल्याएको छ, तर व्यवहारमा कार्यान्वयन गर्न प्रदेशको रिपोर्टिङ गर्ने कमरेडहरूले त्यति सहज नभएको कुरा राख्नुभयो,’ बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने ।
प्रचण्डलाई झस्काउने रिपोर्टिङ
नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूले चुनावमा तालमेल गर्न नहुने धराणा राखिरहेका बेला अध्यक्ष प्रचण्डले कांग्रेससँग नभए गठबन्धनका अन्य दल मिलेर जाने बताउँदै आएका थिए । तर प्रदेशका इञ्चार्जहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)सँग पनि तालमेल अप्ठ्यारो रहेको बताएका थिए ।
भविष्यमा पार्टी एकता समेत गर्न सकिने बताउँदै आएको नेकपा एससँग चुनावी तालमेलमा समेत अप्ठ्यारो रहेको रिपोर्टिङले प्रचण्ड झस्किएका थिए ।
मधेश र सुदूरपश्चिम प्रदेशमा नेकपा एसले हैसियतभन्दा बढी दाबी गरेको बैठक स्रोतले बतायो । दुवै प्रदेश सभामा एमालेभन्दा नेकपा एसका सांसद बढी छन् ।
इञ्चार्जहरूको रिपोर्टिङ सुनिसकेपछि प्रचण्डले तालमेलका लागि अधिकतम पहल गर्ने, नभए गठबन्धनका दलहरूसँग पनि मित्रवत प्रतिस्पर्धा गर्ने सुनाएका थिए ।
‘कांग्रेसका कतिपय नेताहरू अहिले पनि तालमेलको पक्षमा सकारात्मक छैनन्, तर मूल नेतृत्व तालमेल गरेरै अगाडि बढ्न तयार छ,’ बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तालमेलका लागि मेक्सिमम प्रयत्न हुन्छ, तालमेल नभए कांग्रेससँग पनि मित्रवत प्रतिस्पर्धा हुन्छ ।’
तत्कालै अहिलेको गठबन्धनभन्दा बाहिरका दलहरूसँग चुनावी तालमेलको कुरा सम्भव नभएको बताएका थिए ।
‘गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने भनेर हामीले सहमति जनाइसकेका छौं, तर व्यावहारिक रूपमा कठिन देखिरहेका छु’ प्रचण्डले भनेका थिए ।
सार्वजनिक कार्यक्रमहरूमा चुनावी तालमेलबारे बोल्दै आएका प्रचण्डले शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा आज खासै बोलेनन् ।
बिहानको बैठकमा प्रचण्डले महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै मिलाउने भएकाले समस्या नहुने धारणा राखेका थिए ।
बिहानको बैठकबारे माओवादी प्रवक्ता कृष्णबहादुर महराले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै चुनावी तालमेलका लागि अधिकतम पहल गर्ने र परिणाम देखिने गरी चुनावमा सिंगो पार्टी पंक्तिलाई केन्द्रित गर्ने विषयमा छलफल भएको उल्लेख गरेका छन् ।
मधेशमा उपेन्द्रको उस्तै दाबी
माओवादी केन्द्रका मधेश प्रदेश इञ्चार्ज गणेश साहले मधेशमा पनि तालमेलका लागि सहज नरहेको बताए । नेपाली कांग्रेसको आफ्नै दाबी, नेकपा एस र जसपाको आ–आफ्नै दाबीका कारण मधेश प्रदेशमा चुनावी तालमेल अप्ठ्यारो रहेको साहले लोकान्तरलाई बताए ।
‘चुनावी तालमेलबारे अन्य प्रदेशका इञ्चार्ज र नेताहरूले ब्रिफिङ गर्नुभयो, मैले मधेशको अवस्थाबारे जानकारी गराए,’ साहले भने, ‘हाम्रो प्रदेशमा पनि तालमेल सहज छैन, तर हामी सहमतिको प्रयास गरिरहेका छौं ।’
साहले मधेशमा माओवादीको अवस्था विगतमा भन्दा राम्रो भएको दाबी गरे ।
उपेन्द्र यादवको पार्टीले मधेशमा सबैभन्दा धेरै हिस्सा मागेकाले पनि तालमेल गर्न अप्ठ्यारो भएको माओवादी नेताहरू बताउँछन् ।