
नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेल गर्ने गठबन्धनको निर्णय मान्न मातहतका समितिलाई निर्देशन दिएको छ । गठबन्धनलाई थप प्रभावकारी बनाउने कांग्रेसको निर्णय छ ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार बसेको कांग्रेस निर्वाचन परिचालन समिति बैठकले गठबन्धनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।
उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको निर्वाचन परिचालन समिति बैठकले चुनावी तालमेलबारे पार्टीको निर्णय कार्यान्वयन नगर्नु पार्टीको अनुशासन उल्लघंन हुने समेत निश्कर्ष निकालेको छ ।
‘चुनावी गठबन्धन सम्बन्धमा केन्द्रीय समितिले गरेको निर्णय पालना गर्नु सभापति लगायत सबैको दायित्व हो । उल्लंघन गर्ने विषय पार्टीको अनुशासनको दायराको विषय हुन्छ भन्ने पनि समितिको निचोड छ,’ बैठकपछि केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘तर, गठबन्धन स्थानीय आवश्यकता र औचित्यको आधारमा हुन्छ । कुनै ठाउँमा गठबन्धन दलबीच प्रतिष्पर्धा हुन पनि सक्छ ।’
कतिपय जिल्ला र पालिका स्तरका समितिले गठबन्धन नगर्ने बताइरहेका बेला निर्वाचन परिचालन समितिले केन्द्रको निर्णय पालन गर्न निर्देशन दिएको हो ।
कांग्रेसले उपसभापति खड्का संयोजक र उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहित ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको थियो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ ।
बैठकले स्थानीय तह निर्वाचनका लागि स्थानीय स्तरमा समन्वय गर्न सहमहामन्त्रीहरूलाई खटाउने पनि निर्णय गरेको छ ।