२३ असार २०८३, मंगलबार

काठमाडौंको फोहोर बिहान २–८ बजेसम्म ढुवानी, फोहोर व्यवस्थापनलाई सहज बनाउन अपिल

काठमाडौंको फोहोर बिहान २–८ बजेसम्म ढुवानी, फोहोर व्यवस्थापनलाई सहज बनाउन अपिल

काठमाडौं महानगरबाट फोहोर बोकेका गाडी बिहान २ बजेदेखि ८ बजेसम्म ल्याण्डफिल साइटमा जाने गरेका छन् ।

पासाङ ल्हामु राजमार्गअन्तर्गत मुड्खु तीनपिप्ले सडक निर्माण कार्यलाई सहज बनाउन समय छुट्याइएको हो ।

स्थानीयले सडक कालोपत्रे हुनुपर्ने माग राखेर चैत १८ गतेदेखि दोस्रो पटक अवरोध गरेका थिए । सडक निर्माण कम्पनीले कालोपत्रे कार्यलाई सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि चैत २७ गतेबाट कामलाई सहज बनाउन बिहानको समयमा मात्र फोहोर ढुवानी गर्न थालिएको छ ।

फोहोरको आंशिक व्यवस्थापन गर्न थालिएको ३ दिनमा ३४० ट्रक फोहोर ल्याण्डफिल साइटमा लगिएको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईले जानकारी दिए । उनका अनुसार शुक्रवार बिहान ८ बजेसम्ममा १७२ वटा ट्रक फोहोर बोकेर साइटमा पुगेका छन् ।

महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार सडक निर्माणका लागि माग गर्दै स्थानीयले फागुन र चैत महिनामा ३ पटक फोहोर लैजान अवरोध गरे । यसअवधिका ३३ दिन फोहोर संकलन हुन सकेन ।

यसबीच फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शहरी विकास मन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गर्‍यो । ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यसअघि गरिएका प्रतिबद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो । यही दिन काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा र्‍यापिड एक्सन टाक्सफोर्स गठन भयो । फोहोर व्यवस्थापनका लागि स्थलगत अवस्था मिलाउन तथा फोहोर व्यवस्थापन सम्बन्धी कानूनी र व्यावहारिक समस्यामा समाधानमा सहजीकरण गर्न यो फोर्स बनाइएको हो ।

उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करीब १ हजार २०० मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ । जसमध्ये करीब ५४५ मेट्रिक टन फोहोर काठमाडौं महानगरको हो । 

‘शहरको फोहोर व्यवस्थापन गर्न नियमित कार्य सञ्चालन हुनुपर्छ । आंशिक काम गर्दा फोहोरको मात्रा उठाउन कठिन हुन्छ,’ निमित्त विभागीय प्रमुख राई भन्छन्, ‘हामीले नियमित काम गर्न पायौं भने ३ दिनभित्र शहरको सबै फोहोर उठाइसक्छौं । हामी फोहोर संकलनमा लागिरहेका छौं । पूर्ण क्षमतामा काम गर्न नपाएपछि समस्या देखिएको हो । यो समस्याको समाधान हामीबाट मात्र सम्भव छैन । अहिलेको समस्याको मुल कारण सडक हो । नेपाल सरकारले यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गरिदिनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्