
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् ।
काभ्रेपलाञ्चोकको पाँचखालमा शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्ध भएको हुनाले एकअर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताइन् ।
यसअघिको सरकार र पार्टीको नेतृत्व गर्नेले अरुको अस्तित्वलाई स्वीकार नगरेका कारण विद्रोह गर्नुपरेको बताउँदै उनले अहिलेको गठबन्धनले त्यस्ताखाले अवस्थाबाट छुटकारा दिलाउनको लागि स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघ सरकारको निर्वाचन गरेर मुलुकलाई समृद्धि बनाउने दिशामा अगाडि बढ्न गठबन्धन बनेको उनको भनाइ छ ।
‘सबैसँग एकअर्कामा सहकार्य, सहअस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न गठबन्धन गरेका हौं,’ उनले भनिन्, ‘एक्लै हिँड्छु भनेर हिँड्यौं भने हामी कहीँ पुग्दैनौं, हामी सँगसँगै हिँड्यौं भने लक्ष्य हासिल गर्न सकिन्छ ।’
मन्त्री झाँक्रीले पार्टीको नेता तथा कार्यकर्तालाई पनि त्यहीँ अनुसारले काम गर्न आग्रह गरेकी छन् ।