
ठेकेदार सन्तोष पाटिलको आत्महत्या प्रकरणमा नाम जोडिएपछि भारतको कर्नाटकका मन्त्री केएस ईश्वरप्पाले राजीनामा दिनुपरेको छ ।
मुख्यमन्त्री बसवराज बोम्मईलाई ईश्वरप्पाले राजीनामा बुझाएका छन् । यसैबीच ईश्वरप्पाका समर्थक आक्रोशित हुँदै मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका छन् ।
ईश्वरप्पाले भने, ‘मैले स्वेच्छाले राजीनामा दिएको हुँ । मैले मुख्यमन्त्रीसँग आग्रह गरेको छु कि ठेकेदार सन्तोष पाटिल आत्महत्या प्रकरणको अनुसन्धान होस्, यो हत्या घटना हो कि आत्महत्या हो ? स्पष्ट हुनुपर्छ ।’
सन्तोष गत सोमवार उडुपीमा मृत भेटिएका थिए । त्यसको केही अघि सन्तोषले आफ्ना साथीलाई म्यासेज पठाउँदै आफ्नो मृत्युको जिम्मेवार ईश्वरप्पा रहेका दाबी गरेका थिए ।
त्यसको केही दिनअघि सन्तोषले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर मन्त्री ईश्वरप्पाले ४०% कमिशन मागेको आरोप लगाएका थिए ।
ईश्वरप्पाले भने आत्महत्यामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । आफूले सन्तोषविरुद्ध मानहानीको मुद्दा दर्ता गरेको ईश्वरप्पाले स्पष्ट पारेका छन् ।