
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा राजा फर्कने सम्भावना सकिएको बताएका छन् ।
शनिवार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजाले नै राजा फर्कने बाटो बन्द गरिदिएकाले सम्भावना सकिएको बताएका हुन् ।
‘पार्टीहरू असफल भएर राजा आउने होइन, एउटा पार्टी असफल भए अर्को आउँछ। राजा फर्कने अरूनै कारण थिए,’ उनले लेखेका छन्, ‘राजाले नै त्यो बाटो बन्द गरिदिए । अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन । असम्भव एजेण्डा बोकेर हिन्दूराष्ट्रलाई बन्धक बनाउन हुँदैन ।’
उनले राप्रपा र राप्रपाका नेताहरूलाई धैर्यता रहुञ्जेल राजा बोक्न शुभकामना पनि दिएका छन् । ‘तपाईंहरूको धैर्यता रहुञ्जेल राजा बोक्नोस्, मेरो शुभकामना छ,’ उनले भने, ‘विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ । तीतो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो ।’
साथै उनले राजाका माया लाग्ने र राजसंस्थाप्रति भने सम्मान सदैव रहने बताएका छन् ।