०३ साउन २०८३, आइतबार
कांग्रेस बैठक

चुनावी तालमेलको स्थानीय निर्णयमा केन्द्रले हस्तक्षेप नगर्ने, ४ महानगरको मेयर पाउनुपर्ने कांग्रेसको दाबी

चुनावी तालमेलको स्थानीय निर्णयमा केन्द्रले हस्तक्षेप नगर्ने, ४ महानगरको मेयर पाउनुपर्ने कांग्रेसको दाबी

स्थानीय तहको निर्वाचनमा पाँच दलीय तालमेल गर्दा स्थानीय मतभार र राजनीतिक अवस्था हेरेर तल्लो तहका समितिलाई नै निर्णय गर्न दिनेबारे कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा छलफल भएको छ ।

शनिबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा चुनावी तालमेलका क्रममा उपमहानगरपालिका र महानगरपालिकामा सिट बाँडफाँटबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । 

बैठकमा स्थानीय तहमा तालमेल गर्दा स्थानीय समितिले गरेको निर्णयलाई मान्यता दिने र केन्द्रबाट दबाब नदिनेबारे छलफल भएको नेता गोपालमान श्रेष्ठले बताए । 

‘चुनावमा पाँच दलीय गठबन्धनसँग तालमेल गरेर जानुपर्छ भन्नेमा सबैको समान धारणा थियो । तर, स्थानीय आवश्यकताको आधारमा त्यहीँको समितिले गरेको निर्णयलाई मान्नुपर्छ भन्ने कुरा उठेको छ,’ श्रेष्ठले भने, ‘अघिल्लो चुनावमा पनि कांग्रेसभित्रकै नेताहरुका कारण कतिपय ठाउँमा तालमेल नगर्दा बिग्रिएको थियो । अहिले त्यस्तो गल्ती दोहोर्‍याउन हुँदैन भन्ने कुरा भएको छ ।’

बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका ३७ जना सदस्यमध्ये ३१ जनाले बोलेका थिए ।

कांग्रेसको बैठकमा देशभरका ६ वटा महानगरपालिकामध्ये कांग्रेसले ४ वटा महानगरपालिकामा नेतृत्व पाउनुपर्ने बारेमा छलफल भएको थियो ।

विराटनगर र ललितपुर महानगरपालिका यसअघि कांग्रेसले जितेको र त्यसबाहेक काठमाडौं र पोखरा महानगरपालिकामा मेयर कांग्रेसले पाउने गरी गठबन्धनमा दाबी गर्न बैठकमा सुझाव आएको श्रेष्ठले बताए । 

‘विराटनगर र ललितपुर महानगरपालिका हामीले जितेको ठाउँ हो । त्यसबाहेक काठमाडौं र पोखरामा कांग्रेसको मेयर उम्मेदवार हुने र उपमेयर अरू पार्टीलाई दिने गरी गठबन्धनमा छलफल गर्न सुझाव आएको छ,’ श्रेष्ठले भने ।

कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा भने दाबी नगर्ने भएको छ । यसअघि पाँच राजनीतिक दलको गठबन्धन बैठकमा २०७४ को चुनावमा जितेको स्थानीय तहको प्रमुखमा सोही दलको उम्मेदवार हुने सहमति भइसकेको छ । 

आगामी चुनावमा पनि कांग्रेसको प्रतिस्पर्धा एमालेसँगै हुने र गठबन्धनका दलहरु एकमत भएर जाँदा जित्ने अवस्था हुने भएकाले तालमेलमा ध्यान दिन बैठकमा सुझाव आएको श्रेष्ठले बताए । 

देशभरका ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको सिट बाँडफाँटको लागि पहिले पाँच राजनीतिक दलको संयन्त्रमा छलफल गर्ने र त्यहाँ कुन-कुन सिट पाउने भन्ने टुंगो लागेपछि फेरि कार्य सम्पादन समितिको बैठक बसेर कांग्रेसको उम्मेदवारबारे छलफल गर्ने निर्णय भएको नेता बलबहादुर केसीले जानकारी दिए । 

चुनावी तालमेलका क्रममा कांग्रेसलाई फाइदा हुने गरी गठबन्धनमा छलफल गर्ने र सबै नेताले जिम्मेवारी बोध गरी गठबन्धनलाई तार्किक निष्कर्षमा पुर्‍याउन पहल गर्ने बारे बैठकमा छलफल भएको नेता एनपी साउदले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्