काठमाडौं, १९ पुस-ललितपुर मालपोत कार्यालयमा कार्यरत एक अधिकृत र भूमाफिया समूहको मिलेमतोमा चितवनको २० करोड रुपैयाँभन्दा बढी पर्ने जग्गालाई कौडीको भाउमा बिक्री गरेको खुलासा भएको छ, आजको राजधानी दैनिकमा खबर छ | कार्यमा उनीहरूलाई चितवन मालपोत कार्यालयका कर्मचारीले पनि साथ दिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । सो समूहले वास्तविक जग्गाधनीलाई थाहै नदिई सो जग्गा बिक्री गरेको थियो ।
प्रहरीले नक्कली जग्गाधनी खडा गरी सो जग्गा बिक्री गरेको आरोपमा ललितपुरका मालपोत अधिकृत मीनबहादुर भट्टराईलाई पक्राउ गरेको हो । उनी काठमाडौं मालपोतमा हुँदा २०६६ सालमा सो जग्गा बिक्री भएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मालपोत अधिकृत भट्टराईलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । ब्युरोको प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालका अनुसार भट्टराईले २०६६ सालमा काठमाडौं मालपोत कार्यालयमा कार्यरत रहँदा चितवन भण्डाराका लोकेन्द्रराज पाठकको नाममा रहेको जग्गा किर्ते गरी इटहरीका देवेन्द्र थापा र झापाका नगेन्द्र कार्कीलाई १ लाखमा बिक्री गरेका थिए । कार्कीले जग्गाधनी लोकेन्द्रको भतिजा नाता पर्ने जीवनराज पाठकको नाममा किर्ते नागरिकता बनाएर जग्गा पास गरेका हुन् । प्रहरीले देवेन्द्र र लोकेन्द्रलाई पनि पक्राउ गरेको छ ।