देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविदहरूले बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरू शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरूले समयमा समाधानको पहल नगरे नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतावनी समेत दिए ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सूचक रातोमा गएकोले मुलुक गम्भीर संकटमा धकेलिएको बताए ।
सरकारले गर्नुपर्ने काम नगर्ने तर नगर्नुपर्ने काम गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै नेता ज्ञवालीले सरकारलाई फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पूँजीगत खर्च बढाउन, नीतिगत रुपमा भएका सेटिङ रोक्न र राष्ट्र बैंक माथिको हस्तक्षेप रोक्न आग्रह गरे ।
यसैगरी कार्यक्रममा बोल्दै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक विकासको वातावरण बनाउन पार्टीहरू गम्भीर नभएको बताए । बेरुजुको मात्रा बढेको, सुशासन कायम हुन नसकेको, पूँजीगत खर्च नबढेको बताउँदै क्षेत्रीले अर्थमन्त्रालय र राष्ट्र बैँकबीच समन्वय हुनुपर्ने बताए । कृषी क्षेत्रमा उत्पादकत्व बढाउनको लागि अनुदान किसानको हातमा पुग्नुपर्ने समेत उनको सुझाव छ ।
यसैगरी पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थमन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए । बैदेशिक कर्जाले शुरु गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्नुपर्ने बताउँदै खनालले उत्पादनशील क्षमता बढाउन र चालु खर्चमा सन्तुलन ल्याउनुपर्नेमा जोड दिए।
यसैगरी राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले राम्रोसँग काम गरिरहेका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर वर्तमान सरकारले गलत गरेको बताए । राज्यले नै तस्करीलाई प्रोत्साहन गरेको आरोप लगाउँदै डा. रावलले विलासिताका सामान आयातलाई रोकेर निर्यात बढाउनुपर्ने बताए ।
यसैगरी परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टी भन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्ने बताए । साथै उनले राष्ट्रिय पूँजी निर्माण गर्न, छरिएको पूँजीलाई एकीकृत वनाउन, उत्पादन बढाएर आयात घटाउन र समाजवादी अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले नेपालको अर्थतन्त्रको अहिलेको अवस्थाका वारेमा प्रस्तुती गरेका थिए ।
परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा परिषद्का उपाध्यक्ष विधान आचार्यले स्वागत, उपमहासचिव सुशील विकेले धन्यवाद ज्ञापन र सञ्चालन महासचिव इ. गजेन्द्रप्रसाद थपलियाले गरेका थिए ।