२९ जेठ २०८३, शुक्रबार

नेपालले एसियाडका २३ खेलमा सहभागिता जनाउने

नेपालले एसियाडका २३ खेलमा सहभागिता जनाउने

चीनको होङझाउमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औं संस्करणको एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष महेश्वरजंग गहतराजको अध्यक्षतामा शुक्रवार बसेको बोर्ड बैठकले एसियाली खेलकुदमा सहभागिता जनाउने खेल संख्या तय गरेको हो । 

एसियाली खेलकुदमा समावेश गरिने खेलमा तेक्वान्दो, कराँते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फूटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो र ट्रायथलन रहेको छ । उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, पौडी र ब्याडमिन्टन खेललाई समावेश गरिने भएको छ । 

ओलम्पिक नतिजाको आधारमा सुटिङ, विश्व वरीयताको आधारमा ब्याडमिन्टन र टी–२० विश्वकप खेलेको आधारमा क्रिकेट समावेश गर्न लागिएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताए ।

उनले २ वर्षअघि नेपालमै सम्पन्न तेह्रौं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गरेको खेललाई एसियाडमा प्राथमिकता दिएको बताए ।

एसियाली खेलकुदका लागि अबको १० दिनभित्र खेलाडी छनोट गर्न राखेपले निर्देशन समेत दिएको छ । एसियाली खेलमा २३ वटा खेलमा नेपालबाट १५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापक रहने अनुमान गरिएको छ । बैठकले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ । प्रतियोगितामा २ खेल प्रर्दशनीमा राखिने निर्णय भएको छ ।

जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फूटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास र तेक्वान्दो रहेको छ । त्यस्तै उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराँते, फूटबल फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन र प्याराग्लाईडिङ खेलालाई समावेश गर्ने निर्णय गरेको छ । बैठकले छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रूपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्