
स्पेन, २८ असार — स्पेनमा भएको मोना भलिबल प्रतियोगिताको उपाधि पर्वत समाजले जितेको छ ।

सोमवार भएको एकदिवसीय भलिबल प्रतियोगितामा स्पेनमा रहेका सामाजिक संस्था तथा राजनीतिक दलका भ्रातृ संगठनका ६ टिमले भाग लिएका थिए ।
खेल आयोजक मोना स्पेन एलाई ३–१ सेटको अन्तरले हराउँदै पर्वत समाजले उपाधि हात पारेको हो ।
पहिलो हुने टीमले पाँच सय एक युरो, ट्रफी तथा प्रमाणपत्र पाएको छ भने दोस्रो हुने मोना स्पेन एले दुई सय एक युरोसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
विजेता टिमका गरभुजा पुन खेलका उत्कृष्ट खेलाडी भएका थिए भने उपविजेता मोना स्पेन एका लोकेन्द्र पुन अनुशासित खेलाडी घोषित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि एनआरएनका अध्यक्ष मुक्तबहादुर गुरुङले खेल आयोजक तथा विजेताहरूलाई प्रमाणपत्र दिएर तथा मेडल लगाएर सम्मान गरेका थिए ।
खेल हेर्न बार्सिलोनामा बस्ने नेपालीहरूको उल्लेखनीय सहभागिता थियो ।