०५ असार २०८३, शुक्रबार

विलासिताका वस्तुमा कडाइ गर्न सरकार असफल, ९ महिनामा ३५ अर्बको मोबाइल आयात

बैशाख १०, २०७९
विलासिताका वस्तुमा कडाइ गर्न सरकार असफल, ९ महिनामा ३५ अर्बको मोबाइल आयात
प्रतिकात्मक तस्वीर

स्वदेशी उत्पादनको प्रवर्द्धन र विलासिताका वस्तु आयातमा कडाइ गर्न यसअघि भएका अनेक प्रयास र नीति नियम प्रभावकारी नभएकै कारण अहिले सरकार बढ्दो आयात रोक्न असफल भएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ प्रारम्भ भएदेखि नै सरकारले सवारीसाधन, महंगा विदेशी ब्रान्डका मदिरा, सुनचाँदी र धेरै मूल्य पर्ने ल्याप्टप, मोबाइल सेट लगायतका वस्तुलाई विलासिताका सामान भन्दै विलासिताका वस्तुहरूको आयातमा कडाइ गर्दै आएको दाबी गरेको सरकारले यसअघि आफैंले विभिन्न समयमा जारी भएको नीति तथा निर्देशन कार्यान्वयन गर्न असफल भएको देखिएको छ । जसका कारण हाल दैनिक आयात बढेर मुलुक थप आर्थिक संकटमा परेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका ९ महिना गत चैत मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार आयात रोक्न सरकार असफल देखिएको हो । शुक्रवार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको ९ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयात बढेको छ ।

यस अवधिमा कूल १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा जम्मा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँको आयात भएको थियो ।

हालसम्म सरकारले गरेका अनेक प्रयास निरर्थक हुँदा आयात घटेन । झन् उल्टै बढेर आवको बितेका ९ महिनामा गत आवको भन्दा साढे ३ खर्ब रुपैयाँ बढीको सामान आयात भएको विभागले जनाएको छ । चालू आर्थिक वर्षको ९ महिनामा मुलुकको व्यापार घाटा बढेर १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत चैत मसान्तसम्म मुलुकको व्यापार घाटा १३ खर्ब ६ अर्ब नाघेको हो ।

यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ४७ प्रतिशतले बढी हो । हालसम्म आयात नियन्त्रण गर्न असफल साबित भएको सरकारले आफ्ना नीति निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न थप प्रयास नगरे यही अनुपातमा मुलुकको व्यापार घाटा बढेर यस आर्थिक वर्षभित्रमै १८ खर्ब रुपैयाँ नाघ्नेछ ।

विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले सरकारले अनेक उपाय गर्दै आयात घटाउन पहल गरे पनि अझै अपेक्षाकृत रूपमा आयात नियन्त्रणमा नआएको बताए । यसले देशमा तरलता बढाउने र आर्थिक संकट थप चुलिने उनको भनाइ छ ।

चालू आवको शुरूआती महिना गत साउनदेखि चैत मसान्तसम्म नेपालले झण्डै १५ खर्ब रुपैयाँको वस्तु आयात गरेको छ । समीक्षा अवधिमा देखिएको यो आयात अघिल्लो आवको भन्दा ३ खर्ब ५५ अर्ब रुपैयाँले बढी हो ।

विभागका अनुसार मुलुकको आयात १ वर्षको समीक्षा अवधिमा करीब ३२ प्रतिशतले बढेको छ । बैंकहरूले सवारीसाधन, सुनलगायत विलासी वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) खोल्ने कार्य बन्द गरे पनि तथ्यांकमा त्यसको प्रभावकारिता अझै देखिएको छैन । साउनदेखि चैतसम्म १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ । गत वर्ष सोही अवधिमा ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको सामान निर्यात भएको थियो ।

सो अवधिमा ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको देखिन्छ । विभागको तथ्यांकअनुसार निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । यस अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८९ करोड रुपैयाँ बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

चालू आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । गत आवको सोही अवधिमा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।

यस अवधिमा नेपालले छिमेकी मुलुक भारतसँग मात्रै ७ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रुपैयाँ बढीको व्यापार घाटा बेहोरेको छ । चालू आवको बितेका नौ महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । यस अवधिमा भारतबाट ९ खर्ब १७ अर्ब २४ लाख रुपैयाँ बढीको आयात भएको छ । यस अवधिमा १ खर्ब २७ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट बितेका ९ महिनाको अवधिमा २ खर्ब ११ अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको आयात भएको छ । सो समयमा नेपालबाट जम्मा ६२ करोड २८ लाख ६२ हजार रुपैयाँको मात्र निर्यात भएको छ । चीनसँग मात्र २ खर्ब १० अर्ब ४२ करोड ५१ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेको विभागले जनाएको छ ।

पछिल्लो समय सरकारले विभिन्न विलासिताका वस्तुको आयातमा कडाइ गर्दै एलसी बन्द गर्ने सुइको पाएपछि गत चैत महिनामा मात्रै झण्डै ४ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन भित्रिएको छ । भन्सार विभागका अनुसार ७ लाख ४० हजार ८७० थान मोबाइल फोनबाट सरकारले एकै महिनामा करीब ६३ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

राष्ट्रबैंकले मोबाइलको आयातका लागि एलसी खोल्न कडाइ गरेकै कारण व्यवसायीले स्टक कायम गर्नकै लागि धेरै आयात गरेकाले संख्या बढेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार बैंकहरूले चैतबाट मोबाइल आयात गर्न एलसी खोल्न नै बन्द गरिदिएपछि अब बजारमा नपाइने भन्दै झन् माग बढेसँगै आयातमा पनि वृद्धि भएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा करीब ३५ अर्ब रुपैयाँ बराबरको ५० लाख थान बढी मोबाइल फोन आयात भएको छ । चालू आवमा सबैभन्दा धेरै मोबाइल फोन गत भदौमा आयात भएको थियो । दशैंतिहार र छठपर्व लगायतका चाडपर्व अघि व्यवसायीले करीब साढे ५ अर्ब रुपैयाँको ८ लाख ३१ हजार २४७ थान मोबाइल फोन आयात भएको थियो ।

भदौपछि चैतमा आएर सबैभन्दा बढी मोबाइल फोन आयात भएको देखिएको विभागले जनाएको छ । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्