१२ साउन २०८३, मंगलबार
स्थानीय चुनाव

लुम्बिनीका ४ उपमहानगरमा एमालेका उम्मेदवार को कति बलिया ?

बैशाख ११, २०७९
लुम्बिनीका ४ उपमहानगरमा एमालेका उम्मेदवार को कति बलिया ?

नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनको लागि लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकामा उम्मेदवारको टुंगो  लगाएर चुनावमा होमिएको छ ।

घोराहीका मेयर नरूलाल चौधरीबाहेक अन्य सबै मेयर र उपमेयरका उम्मेदवारमा एमालेले नयाँ अनुहारलाई अगाडि सारेको छ । 

शनिवार राति सम्पन्न पार्टी सचिवालय बैठकले लुम्बिनी ४ उपमहानगरमा उम्मेदवार फाइनल गरेको हो । 

२०७४ को निर्वाचनमा लुम्बिनीका ४ उपमहानगरमध्ये एमाले ३ वटा उपमहानगरमा मेयर उपमेयरसहित बहुमत वडामा विजयी भएको थियो । यस पटक पनि एमाले आफ्नो पकड कायम गर्ने प्रयासमा छ । 

अहिले सबै पालिकामा सत्तारुढ गठबन्धनले तालमेल गरेर अगाडि बढेका छन् भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ । 

अहिले प्रदेश मुकाम रहेको बुटवल उपमहानगरपालिकामा एमाले प्रदेश कमिटी सदस्य बाबुराम भट्टराईलाई मेयर र उपमेयरमा पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्याललाई अगाडि सारेको छ । भट्टराई गएको निर्वाचनमा नै मेयरमा र अर्याल उपमेयरका दाबेदार थिए ।

सबैको चासोको केन्द्रमा रहेको बुटवलमा एमालेले उम्मेदवार टुंग्याएपछि चुनावी माहोल झनै तातेको छ । भट्टराई औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष हुन् । 

एमालेका राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईका सहोदार भाइ बाबुरामले बौद्धिक नेताका रुपमा आफ्नो परिचय बनाएका छन् । 

त्यस्तै, उपमेयरकी उम्मेदवार अर्याल सामाजिक क्षेत्रमा क्रियाशील छिन् । 

बुटवल एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर हो । १९ वडा रहेको बुटवलमा १६ वडा सहित एमालेले गएको निर्वाचनमा जित निकालेको थियो । 

बुटवलमा अहिलेका मेयर शिवराज सुवेदीले कांग्रेसका खेलराज पाण्डेलाई २ हजार ३९८ मतान्तरले जितेका थिए । त्यस्तै उपप्रमुखमा १० हजार भन्दाबढी मतान्तर थियो । मेयर सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए भने पाण्डेको मत २० हजार ८५१ थियो । 

त्यस्तै आचार्यको २५ हजार ३०१ र माओवादीबाट उपमेयरका उम्मेदवार बनेका जगतबहादुर पोखरेलको १४ हजार ७९२ थियो । 

बुटवलमा अहिले ९० हजार मतदाता रहेका छन् । यो संख्या गएको निर्वाचनको भन्दा २४ हजारले बढी हो । गठबन्धनबाट बुटवलमा गएको निर्वाचनमा उम्मेदवार रहेको खेलराज पाण्डेलाई नै अगाडि सार्ने तयारी गरेको छ । उनको एकल नाम सिफारिस भएको छ । 

नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले कार्यकर्ताको चाहनाअनुसार पार्टीले उम्मेदवार छनौट गरेको भन्दै सबै क्षेत्रमा एमाले उम्मेदवार विजयी हुने दाबी गरे । 

त्यस्तै, दाङको घोराही उपमहानगरपालिकामा अहिलेका मेयर नरुलाल चौधरीलाई एमालेले दोहोर्‍याएर उम्मेदवार बनाएको छ । उपमेयरमा भने नयाँ अनुहार हुमा डिसीलाई एमालेले अगाडि सारेको छ । 

गएको निर्वाचनमा चौधरी २२ हजार ३० मतका साथ विजयी भएका थिए । उनले कांग्रेसका भूपबहादुर डाँगीलाई पाँच हजार बढी मतान्तरले पराजित गरेका थिए । डाँगीको मत १७ हजार ४८४ थियो । उपमेयर सीता सिग्देलको नाम नगरबाट मेयरमा सिफारिस भएर गए पनि चौधरीलाई नै पार्टीले दोहोर्‍याएको हो । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हेमराज शर्माको नाम सिफारिस भएको छ । त्यस्तै, उपमेयरमा गएको निर्वाचनमा पराजित डाँगीलाई उपमेयरको उम्मेदवार बनाउने गरी नाम सिफारिस भएको छ । 

घोराही देशकै ठूलो उपमहानगर हो । उपमेयरमा टिकट पाएकी हुमा महिला अधिकारको क्षेत्रमा क्रियाशील छिन् । 

त्यस्तै, दाङकै तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई अगाडि सारेको छ भने उपमेयरमा स्यानी चौधरीलाई उम्मेदवार बनाएको छ ।

तुलसीपुरका एमालेबाट उम्मेदवार बनेका दुवै जना नयाँ अनुहार हुन् । खड्का एमाले विभाजन हुनु अगाडिसम्म माधवकुमार नेपाललाई साथ दिँदै आएका थिए । उनलाई मेयरको टिकट दिने आश्वासनपछि एमालेमै रहेका थिए । एमाले महासचिव शंकर पोखरेलले खड्कालाई टिकट दिने वाचा एमाले विभाजन हुनु अगाडि गरेको एमालेका स्थानीय नेता कार्यकर्ता बताउँछन् ।

गएको निर्वाचनमा एमालेबाटै मेयरमा घनश्याम पाण्डेले कांग्रेसका गेहेन्द्र गिरीलाई पराजित गरेका थिए । पाण्डेको २२ हजार ८५७ मत र गिरीको १८ हजार ९०३ मत थियो । उपमेयर माया शर्मालाई भने यस पटक पार्टीले अगाडि सारेन । उपमेयरमा टिकट पाएकी स्यानी अधिकारकर्मीको रुपमा क्रियाशील छिन् । अहिले गठबन्धनले पुनः गिरीलाई नै अगाडि सारेको छ । एमाले नेता खड्का कार्यकतामाझ सरल नेताको रुपमा परिचित छन् ।  

बाँकेको नेपालगञ्जमा एमालेले यसपटक नवप्रवेशीलाई मेयरको टिकट दिएको छ । एमालेले मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकाललाई उम्मेदवार बनाएको हो । हृदयेश त्रिपाठी समूहका क्रियाशील मिश्रलाई नेपालगञ्जको मेयरको उम्मेदवार बनाउने गरी ओलीले गएको फागुनमा पार्टीमा भित्र्याएका थिए । 

गएको निर्वाचनमा नेपालगञ्जको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डा. धवल शमशेर राणा र उपमेयरमा कांग्रेसकी उमा थापा मगर निर्वाचित भएका थिए । 

गएको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका शमसुद्धिन सिद्धिकी एमाले विभाजनसँगै नेकपा एकीकृत समाजवादीमा लागेका छन् । गएको निर्वाचनमा राणाले १२ हजार ५१५, थापा मगरले १० हजार ७३३ मत ल्याएका थिए । 

त्यसबेला एमालेका उम्मेदवार तेस्रो स्थानमा थिए । २३ वडा रहेको नेपालगञ्जमा ८ वडामा कांग्रेस, ६ वडामा एमाले, राप्रपा, जसपा र माओवादी केन्द्र ३/३ वडामा जितेका थिए । नेपालगञ्जमा ८० हजार ७०० मतदाता छन् । 

सत्तारुढ गठबन्धनले अझै उम्मेदवार टुंगो लगाएको छैन । लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये सबैभन्दा चासोमा यी चार उपमहानगरपालिका छ । 

salt training

कमेन्ट गर्नुहोस्